मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान



मुस्ताङ, भदौ ९ गते ।

मुस्ताङको मुक्तिनाथमा एकै दिन आठ वटा हेलिकप्टरले उडान गरेका छन् ।

जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उडान गरेका हुन् ।

जोमसोम विमानस्थल प्रमुख दीपक पोखरेलका अनुसार आज काठमाडौँ–मुक्तिनाथ दुईतर्फी हेलिकप्टर उडान भएका छन् । ती उडानबाट ३२ भारतीय दर्शनार्थीले हेलिकप्टर सेवा लिएका छन् । उनका अनुसार वर्षायाममा यति धेरै सङ्ख्यामा हेलिकप्टर उडान भएको पहिलो पटक हो ।

विमानस्थल प्रमुख पोखरेलका अनुसार काठमाडौँबाट सिधै मुक्तिनाथ र मुक्तिनाथबाट काठमाडौँ विभिन्न पाँच निजी हेलिकप्टर कम्पनीले उडान गरेका छन् । एयर डाइनेस्टिक, अल्टिच्युड एयर, एभरेस्ट हेली, अन्नपूर्ण एयर र मिम्रिक एयरले उडान गरेका हुन् ।

यसैगरी, दुई महिनादेखि रोकिएको पोखरा–जोमसोम हवाई सेवा पनि आजदेखि पुनःसञ्चालनमा आएको छ । पोखरा–जोमसोम नियमित हवाई सेवाका लागि समिट एयरलाइन्सले तीन वटा उडान गरेको हो ।

समिट एयरको जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीका अनुसार जेठ २ गतेदेखि बन्द रहेको हवाई सेवा सोमबारदेखि पुनःसुरु भएको हो ।

पहिलो दिन समिट एयरको जहाजले ४८ भारतीय यात्रुलाई सेवा दिएको उनले जानकारी दिए । तारा एयरलाइन्सले भने अझै उडान सुरु गरेको छैन ।

Scroll to Top