काठमाडौं, भदौ ९ गते ।
उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ ।
पछिल्लो समय यो विषयमा सार्वजनिक रूपमासमेत प्रश्न उठिरहेको छ ।
यहीबेला प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले उपत्यकाको फोहोरमैला व्यवस्थापन सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरेको हो ।
समितिको बैठक यही ११ गते बिहीबार बस्नेछ ।
समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा संघीय सरकार र स्थानीय सरकारका प्रतिनिधिहरूलाई बोलाइएको छ ।
पूर्वाधार विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ ।
काठमाडौं उपत्यकाले लामो समयदेखि फोहोरलाई स्रोतमा घटाउने, छुट्याउने, पुनस्प्रयोगरपुनर्चक्रण गर्नेभन्दा जम्मा गरेर ल्याण्डफिलमा लैजाने मोडल अपनाउँदै आएको छ ।
सिसडोलपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटलाई दीर्घकालीन समाधानका रूपमा अघि सारिएको छ । तर, अहिले बञ्चरेडाँडामै समस्या देखिन थालेको छ ।
२० वर्षका लागि बनाइएको भनिएको ल्यान्डफिल साइड चार वर्षमै भरिने अवस्था आएपछि यो विषयमा प्रश्न उठेको छ ।
यी लगायतका विषयमा संसदीय समितिले संघीय सरकार र स्थानीय सरकारका प्रतिनिधिलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको हो ।





