मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत



काठमाडौँ, भदौ ९ गते ।

प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धन भत्किएपछि त्यसको प्रभाव ६ वटा प्रदेशमा परेको छ । मधेसमा भने अहिले पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धन कायम छ ।

अन्य ६ वटा प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धनका आधारमा राजनीतिक कोर्ष अघि बढ्दा मधेसमा भने कांग्रेसको विकल्प खोजिएको छैन ।

मधेस प्रदेश सभामा जनता समाजवादी पार्टी नेपाल सबैभन्दा ठुलो दल छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धन सरकार कायम रहेका कारण जसपा नेपाल प्रतिपक्षको भूमिकामा छ । अग्रगामी मोर्चामा रहेको जसपा नेपालले सरकारमा नजाने निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेसका नेता महेन्द्र यादवले अरु प्रदेशमा कांग्रेस–एमालेको गठबन्धन भत्किए पनि मधेस प्रदेशमा नभत्किने दाबी गरे । मधेसमा कांग्रेस, एमाले र नेकपाकै सरकार रहने बताउँदै उनले तीन प्रमुख दल सरकारमा रहेकाले बलियो विपक्षी दल आवश्यक पर्ने र यो भूमिकामा जसपा नेपाल रहने प्रस्ट पारे ।

यादवले भने, ‘कांग्रेस–एमालेले मात्र होइन, नेकपाले पनि मधेसवादी दललाई सरकारको नेतृत्व दिन चाहेको छैन । मधेसवादी दलहरूले विगत ८ वर्षदेखि मधेस प्रदेश सरकार चलाए, तर संघीयतामाथि नै प्रश्न उठ्न थाल्यो । त्यसले गर्दा अब कांग्रेस, एमाले र नेकपाले मिलेर सरकार चलाउँछन् ।’

मधेसवादी दलको नेतृत्वमा सरकार हुँदा मधेसमा थुप्रै बेथिति जन्मेको दाबी गर्दै उनले मधेसवादी दलले सरकार चलाउन नसकेकै कारण कांग्रेसले नेतृत्व लिएको बताए ।

एमालेका नेता तथा मधेस प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले जसपा नेपाल सरकारका लागि तयार नभएको कारण मधेसमा कांग्रेस, एमाले र नेकपा मिलेर सरकार सञ्चालन गरेको बताए ।

श्रेष्ठका अनुसार अहिले जसपा नेपाल पार्टीभित्रै विवाद छ । जसपा नेपाल र लोसपा नेपालबिच एकता भए पनि सरकार कसको नेतृत्वमा बनाउने, सरकारमा जाने कि नजाने जस्ता विषयमा दलभित्र सहमति नबनेको कारण कांग्रेसको नेतृत्वमा सरकार चलिरहेको उनले बताए । एमालेले जसपा नेपाललाई समेटेर सरकार बनाउन चाहे पनि जसपा नेपाल नै तयार नभएका कारण कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिनु परेको उनको भनाइ छ ।

कांग्रेस–एमाले गठबन्धन कांग्रेसको कारण भत्किएको बताउँदै श्रेष्ठले सुदूरपश्चिम लगायतका प्रदेशमा कांग्रेस एकोहोरो ढङ्गले अघि बढ्न थालेपछि एमाले बाध्य भएर अर्को गठबन्धन बनाउन अग्रसर भएको प्रस्ट पारे ।

कांग्रेस नेता महेन्द्र यादव यसमा सहमत छैनन् । ‘देशका तत्कालीन सबभन्दा ठुलो दुई दल मिलेको कारण आलोचना भइरहेको थियो । दुई ठुला दल मिल्नु हुँदैनथ्यो भन्ने धेरैको भनाइ थियो । यो राजनीतिक सिद्धान्त विपरीत पनि थियो । त्यही भएर प्रदेशमा एउटा बलियो प्रतिपक्षी होस् भनेर नै कांग्रेस अलग भएको हो,’ उनले भने । मधेसमा भने अन्य प्रदेशको अवस्था भन्दा फरक समीकरण रहेको उनले प्रस्ट पारे ।

कांग्रेस–एमालेको गठबन्धन भत्किने बित्तिकै मधेसमा जसपा नेपालले सरकार बनाउने गृहकार्य सुरु गरेको थियो । जसपा नेपाललाई एमालेले साथ दिने आश्वासन पनि दिएको थियो, तर त्यतिबेला जसपा नेपालभित्रै कुरा मिलेको थिएन ।

जसपा नेपाल र लोसपाबिच एकता भए पनि समायोजको काम बाँकी थियो । त्यसले गर्दा सरकार गठनमै झमेला भइरहेको थियो । निर्वाचन आयोगबाट पार्टी एकताको आधिकारिक पत्र पनि प्रदेशमा पुगेको थिएन ।

त्यसपछि एमालेले बाध्य भएर कांग्रेसलाई साथ दिने निर्णय गर्‍यो । यता, केन्द्रमै पनि मधेस प्रदेशको हकमा गठबन्धन नतोड्ने कांग्रेस–एमालेबिच सहमति भएको छ । अरु ठाउँमा गठबन्धन तोडे पनि मधेस प्रदेशमा सरकारलाई निरन्तरता दिने, त्यहाँको सरकार नचलाउने दुई दलको बिचमा सहमति भएको स्रोतले दाबी गरेको छ ।

दुई दलबिच भएको यस्तो सहमति थाहा पाएर नै जसपा नेपालले समेत प्रदेश सभाको अर्को चुनावसम्म सरकारमा नजाने निर्णय गरेको छ । जसपा नेपाल त्यो निर्णयमा काम रहेमा मधेस प्रदेशमा कांग्रेस, एमाले र नेकपाकै नेतृत्वमा सरकार रहने लगभग निश्चित छ ।

उता लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जसपा नेपालबाट दुई जना मन्त्री सहभागी भएका छन् । आफ्ना पार्टीका मन्त्रीहरूलाई सरकारमा सहभागी गराएको भनेर जसपा नेपालले एमालेप्रति आपत्ति जनाइसकेको छ । जसपा नेपालले सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीलाई पत्र पनि पठाएको छ, तर जसपा नेपालका ती नेताहरू सरकारबाट बाहिरिएका छैनन् ।

Scroll to Top