कञ्चनपुर, भदौ १० गते ।
कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्षयता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा एक हजार ७५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन । यस्तै, एक करोड पाँच लाख १८ हजार ११९ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी नवराज भट्टले जानकारी दिए । उनका अनुसार एक हजार ५३४ पर्यटक यो नाकाबाट बाहिरिएका छन् ।
कार्यालयका अनुसार २०२२ मा ५४२ पर्यटक सो नाका भएरस नेपाल आएका थिए । यस्तै, २०२३ मा ९८३ र २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएको अध्यागमनको तथ्यांक छ ।
सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना भए पनि पश्चिमी नाकाबाट नेपाल आएका पर्यटक काठमाडौँ, पोखरालगायतका सहरमा जाने गरेका छन् ।
सुदूरपश्चिममा खप्तड, बडिमालिका, रामारोशनर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका प्रमुख पर्यटकीय गन्तव्य रहे पनि पूर्वाधारको अभाव र प्रचारप्रसार नहुँदा यो नाकाबाट आएका पर्यटक समेत अन्यत्र जाने गरेको यहाँका पर्यटन व्यवसायी बताए ।
‘विदेशी पर्यटक भित्रिने गड्डाचौकी नाका प्रमुख नाका हो यहाँबाट भारतका पर्यटकीय शहर नजिक छन्,’ पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने, ‘नाकामै पर्यटन सूचना डेस्क स्थापना हुनुपर्छ ।’
उनले यहाँबाट आउने पर्यटकलाई सुचना केन्द्रबाट सुदूरपश्चिमलगायत नेपालका पर्यटकीय गन्तव्यका बारे जानकारी दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र सरकाले समन्वयमा काम गर्नुपर्ने उनको भनाइ थियो ।
सुदूरपश्चिममा पर्यटनका सम्भावना भए पनि पर्याप्त पूर्वाधार विकास र प्रचारप्रसारको अभावका कारण पर्यटक अन्यत्र जाने गरेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले बताए ।
‘हामीसँग रहेका आकर्षक गन्तव्यसम्म पुग्न सहज पूर्वाधार र अन्य सुविधाको अभाव छ,’ उनले भने, ‘यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई एक रात भए पनि यतै बस्ने वातावरण बनाउनुपर्छ ।’





