सुरुङमा फसेकाको उद्धारमा के प्रगति भयो ?



काठमाडौं, भदौ १५ गते ।

गत बुधबार बिहान एक्कासी आएको बाढीले रसुवा, नुवाकोटका नदी किनार क्षेत्र तहसनहस भएका छन् । बाढीले रसुवा, नुवाकोटका जलविद्युत आयोजनाका सुरुङसमेत पुरिएका छन् ।

उक्त सुरुङमा ठूलो संख्यामा मान्छे रहेको आशंका गरिएको छ । बाढी आएको छैटौं दिन पुग्दा पनि ती सुरुङहरूमा उद्धारको काम हुन सकेको छैन।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार त्रिशूली थ्री ए मा राति २ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो । साथै दुई वटा स्काभेटरले करिब १० मिटर तलसम्म लगेर होल बनाउने काम भएको छ ।

सुरुङभित्रको पानी, हिलो र लेदोलाई अहिले सफागर्ने काम भइरहेको सेनाले जानकारी दिएको छ ।

अर्को सुरुङ त्रिशूली थ्री बीमा पनि विज्ञसहितको फौज खटिएर खोज तथा उद्धार भइरहेको बताइएको छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्रबामट करिब १०० मिटर प्रवेश गरी खोजी गरेको छ । सो क्रममा भित्री भागमा हिलो माटोले पुरिएको अवस्थामा रहेको दुई वटा शव समेत निकालिएको छ ।

अप्पर त्रिशूली १ मा खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब ३०० मिटरसम्म प्रवेश गरेर खोजी कार्य गरेको सेनाले बताएको छ । यो सुरुङबाट एक शव निकालिएको छ ।

लाङटाङ सुरुङमा पनि खोजी कार्य सुरु भएको सेनाले बताएको छ । यो सुरुङमा टर्च लाइटको प्रयोगसहित खोज तथा उद्धारको काम भइरहेको बताइएको छ ।

Scroll to Top