भक्तपुर, भाद्र २२ गते ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले मंगलवार भदौ २३ गतेदेखि सञ्चालन हुन लागेका डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ ।
परिषद्ले सोमवार एक अत्यन्त जरुरी सूचना जारी गर्दै विशेष परिस्थितिका कारण परीक्षाहरू स्थगित गरिएको जानकारी दिएको हो ।
यसअघि २०८३ साउन १५ गते प्रकाशित परीक्षा तालिका र सोही वर्षको भदौ १६ गते तोकिएका परीक्षा केन्द्रहरू अनुसार डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक तथा सेमेस्टर परीक्षा प्रणालीका नियमित एवं आंशिक परीक्षाहरू भोलि बिहान ७ः०० बजेदेखि देशभर एकैसाथ सञ्चालन गर्ने तय भएको थियो ।
कार्यालयका अनुसार स्थगित गरिएका परीक्षाहरूको नयाँ तालिका र परीक्षा केन्द्रहरू पछि पुनः सार्वजनिक गरिनेछ ।
परीक्षा सम्बन्धी थप विवरण तथा अद्यावधिक जानकारीका लागि परिषद्को आधिकारिक वेबसाइट www.ctevtexam.org.np हेर्न सकिने व्यहोरा परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा उल्लेख छ ।






