काठमाडौँ, भदौ २२ गते ।
भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता रहेका यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको सम्झनामा नेपाल अरनिको यातायात सेवा प्रालि दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौँको जडीबुटीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली तथा स्मृति सभामा नेपाल अरनिको यातायात सेवा प्रालिका अध्यक्ष हरिभक्त श्रेष्ठ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, महासङ्घका पूर्वअध्यक्ष विजयबहादुर स्वाँरलगायतले दीप प्रज्वलन गरेका थिए ।
बाढीमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको थियो । यस्तै, बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको शीघ्र खोजी तथा उद्धार गरी सकुशल घर फर्काउन सकियोस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको थियो ।
बाढीमा परेर सो कम्पनीसँग आबद्ध २८ जना यातायात मजदुर बेपत्ता छन् भने हालसम्म एक जनाको मात्रै शव फेला परेको छ । बाढीका कारण दर्जनौँ बस बेपत्ता रहेको कार्यक्रममा जानकारी दिइयो ।
प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न नेपाल अरनिको यातायात सेवा प्रालिले रु एक लाख ११ हजार १११ उपलब्ध गराएको छ ।





