रसुवा बाढीप्रति पोर्चुगलस्थित ५० भन्दा बढी देशका कूटनीतिज्ञद्वारा शोक व्यक्त



पोर्चुगल, भदौ २५ गते ।

रसुवाको भोटेकोशी बाढीबाट नेपालले ब्यहोरेको ठूलो जनधनको क्षतिप्रति पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत ५० भन्दा बढी देशका कूटनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।

पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली राजदूतावास पुगेर विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूले नेपालले सामना गरिरहेको महाविपत्तिप्रति चिन्ता व्यक्त गरेका हुन्। ५० भन्दा बढी मुलुकका प्रतिनिधि तथा पोर्चुगल सरकारका उच्च पदाधिकारीहरूले दूतावासमा राखिएको शोक–पुस्तिकामा हस्ताक्षर गर्दै समवेदना व्यक्त गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए।

कूटनीतिक प्रतिनिधिहरूले यो कठिन घडीमा विपत्तिविरुद्ध जुध्न र नेपाललाई आवश्यक सहयोग प्रदान गर्न आफ्ना मुलुकहरू तयार रहेको सन्देशसमेत नेपाल सरकारसमक्ष पुर्‍याइदिन आग्रह गरेका छन्। पोर्चुगलमा रहेका अन्य विभिन्न मुलुकका कूटनीतिक नियोगहरूले पनि इमेलमार्फत शोक सन्देश पठाएका छन्।

यसैबीच, नेपाली राजदूतावासले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दूतावास परिसरमा दीप प्रज्वलन गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

नागरिक स्तरबाट पनि पोर्चुगलका विभिन्न स्थानमा रसुवा बाढीका पीडितको सम्झनामा शोक तथा दीप प्रज्वलन कार्यक्रमहरू आयोजना गरिएका छन्।

बाढीको शोकका कारण पोर्चुगलमा रहेका नेपाली समुदायले पूर्वनिर्धारित सबै सांस्कृतिक तथा तीज विशेष कार्यक्रमहरू स्थगन गरेका छन्।

Scroll to Top