विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइने



द पब्लिक टुडे
गौशाला, भदौ २९ गते ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशको आयोजनामा विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ ।

सोमबार बर्दिबासस्थित महासङ्घका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता तथा मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइने जनाइएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाल (हान) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेश प्रदेशको सहभागितामा सम्पन्न बैठकले विश्व पर्यटन दिवसका अवसरमा प्रदेशभर विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ ।

मिथिला नगरीलाई धार्मिक, सांस्कृतिक तथा वैवाहिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर यो दिवस मनाउन लागिएको महासङ्घका अध्यक्ष हिरालाल गौतमले बताए ।

उनका अनुसार मन्त्रालय, हान र नाट्टासँगको सहकार्यमा मधेश प्रदेशका प्रत्येक जिल्लास्थित होटल तथा पर्यटन व्यवसायी सङ्घले आ–आफ्नो क्षेत्रमा विविध कार्यक्रम आयोजना गर्नेछन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् मन्त्रालयका सचिव जयकुमार घिमिरेले पर्यटनको विकासविना ‘समृद्ध मधेश’ को यात्रा अधुरो रहने बताए ।

उनले निजी क्षेत्र र सरकार मिलेर अघि बढेमा तोकिएको लक्ष्य हासिल गर्न सहज हुने उल्लेख गर्दै प्रदेश सरकार मधेशको पर्यटन प्रवद्र्धनमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

बैठकमा दिगो पर्यटन विकासका लागि पर्यटन क्षेत्रका प्रतिनिधिहरूले आफ्ना सुझाव प्रस्तुत गर्दै दिवसलाई उद्देश्यमूलक ढङ्गले मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा हानका केन्द्रीय सदस्य तथा महासङ्घका संरक्षक सल्लाहकार विजय झुनझुनवाला, नाट्टा मधेश प्रदेशका महासचिव सुदर्शन काफ्ले, हान मधेश प्रदेशका महासचिव दीपेन्द्र पराजुलीसहित महोत्तरी, धनुषा, सिरहा, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला अध्यक्षहरू तथा विभिन्न मन्त्रालयका शाखा अधिकृतहरूको उपस्थिति रहेको समाचार आजको द पब्लिक टुडे पत्रिकामा प्रकाशित भएको छ ।

Scroll to Top