काठमाडौं, भदौ ३१ गते ।
संघीय संसद सचिवालयले संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई व्यवस्थित, सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले नयाँ ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
हाल परीक्षणको चरणमा रहेको उक्त प्लेटफर्मको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा सभामुख अर्यालले संसद्का सूचना, विधेयकको अवस्था, क्यालेन्डर, सांसदहरूको उपस्थिति तथा समिति र उपसमितिका विवरणलाई एउटै प्लेटफर्ममा समेटिएको बताए ।
नेपालको संसदीय इतिहाससँग सम्बन्धित पुराना ढड्डा तथा दस्तावेजलाई डिजिटलाइज गरी सयौँ वर्षसम्म सुरक्षित राख्न र अध्ययन–अनुसन्धानमा सहजता ल्याउन पनि प्लेटफर्मले सहयोग गर्ने उनको भनाइ थियो ।
उनले व्यवस्थापिका मात्र नभई कार्यपालिका, न्यायपालिका तथा तीनै तहका सरकारलाई पारदर्शी, नागरिकमुखी र जनताको विश्वास जगाउने दिशामा अघि बढाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको धारणा राखे ।
त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्, संसदीय समिति र सचिवालयका कामकारबाहीलाई परम्परागत कागजी ढाँचाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्दा काम छिटो, पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन सहज हुने बताए ।
संसद्मा युवा पुस्ताको उपस्थिति बढे पनि कागजी दस्तावेज पढ्ने पुरानो अभ्यास अझै कायमै रहेको उल्लेख गर्दै उनले सांसद तथा कर्मचारीका लागि उच्चस्तरीय, व्यावहारिक र सहज अभिमुखीकरण आवश्यक रहेको धारणा राखे ।
अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय स्तरको तुलनामा नेपालको प्रारम्भिक अवस्था सामान्य देखिए पनि देशको वस्तुस्थिति र आवश्यकतालाई ध्यानमा राखेर डिजिटल प्रणालीलाई चरणबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।





