प्रचण्डको उद्घोष: मर्न तयार छौं

कुञ्जरमणि भट्टराई

काठमाडौं,माघ ४ गते : संसद् विघटनविरुद्ध संघर्ष गरिहरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आक्रमक रुपमा प्रस्तुत हुने संकेत देखिएको छ । काठमाडौंमै संघर्ष शिथिल बनेको आरोप पार्टीकै नेता कार्यकर्ताहरुले आरोप लगाइरहेका थिए । पार्टीको स्थायी कमिटी बैठकमा समेत आन्दोलन सशक्त नभएको भन्दै आक्रामक बनाउनुपर्ने विषयमा छलफल भएको थियो । नेकपाले माघ ९, १६ र २३ गते सशक्त आन्दोलनको घोषणा पनि गरेको छ ।

संसद् विघटनविरुद्धको संघर्षका कार्यक्रमअन्तर्गत आज अनेरास्ववियूले प्रज्ञा भवनमा आयोजना गरेको भेलामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तेजित अभिव्यक्ति दिए । उनले अबको आन्दोलन हिंसात्मक हुने संकेत गरे ।

“तपाईंहरु आक्रामक ढंगले आउन जरुरी छ । त्यसो भनेर बुढै त भइएको छैन । ९ गते हामी अलि म्यासिभली जानेछौं । अग्रपंक्तिमा यसपटक हामी अग्रपंक्तिमा हुनेछौं, ” उनले भने, “हिजो गिरिजाबाबु अथवा झलनाथ, माधवजीले लाठी खाएजस्तो मलाई किन-किन मेरो पनि टाउको चिलाएको हो । लाठी खान मन छ योपटक।”

यसअघिका कार्यक्रममा उनले आफूहरु शान्तिपूर्ण आन्दोलन मात्रै गर्ने जिकिर गर्दै आएका थिए । तर, विद्यार्थी नेता कार्यकर्ताहरुलाई आक्रामक शैलीमा प्रस्तुत हुन निर्देशन दिए ।

“गर्जिनुपर्ने बेला भयो । अब शाकाहारी आन्दोलनले पुग्दैन । त्यसलाई त उनले गन्नेवाला नै छैनन्,” उनले मुठभेडमै उत्रनेतर्फ संकेत गर्दै भने, “यस्तो शाकाहारी आन्दोलन पार्टीभित्र कति गरियो गरियो । अब यस्तो आन्दोलनले हुँदैन । युवा-विद्यार्थी तयार हुनुपर्छ ।”

उनले आनदोलनमा उत्रिनेहरुको टाउको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको भन्दै युवाहरुलाई उत्तेजति बनाए । उनको अभिव्यक्तिमा प्रज्ञा प्रवनमा रहेका उपस्थित युवाहरुले ताली र सिठ्ठीमा लोली मिलाए ।

उनले देशमा डरलाग्दो षड्यन्त्र भइरहेको बताउँदै युवाहरुको ऐतिहासिक काँधमा आएको बताए । देशलाई अँध्यारो सुरुङमा धकेल्ने षड्यन्त्र भइरहेको उनको भनाइ थियो । कार्यक्रममा प्रचण्डले देशलाई प्रतिक्रान्तिबाट जोगाउन मर्नसमेत तयार रहेको बताए ।

मर्न तयार छौं
कार्यक्रममा प्रचण्डले संसद्‌विरुद्धको आन्दोदलनमा आफूहरु मर्नसमेत तयार रहेको उद्घोषसमेत गरे । “देशलाई प्रतिक्रान्ति अँध्यारोको भड्खालोमा हालेको हेर्न सकिँदैन। हिजो पनि मर्न हिँडेको हो । जरुरी पर्छ भने मर्न तयार । झुक्न तयार छैनौं,’’ प्रचण्डले भने ।

अदालतप्रति भरोसा गुमेको संकेत
भेलामा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहले अदालत र निर्वाचन आयोगलाई धम्याक्याएको बताउँदै सेटिङ भन्ने शब्दप्रति आशंका गर्नुपर्ने बताए । “ओलीले अदालतलाई पनि जे भन्यो त्यही मान्नुपर्छ भन्या छन् । पोलिटिकल डिसिजन मान्नुपर्छ भन्या छन् । हामीले त निर्वाचन आयोग अदालतलाई केही भनेका छैनौं । हामीले विश्वास व्यक्त गरेका छौं,’’ प्रचण्ड भन्छन्, “तर केपी र केपीनजिकका मान्छेहरुले सेटिङ भइसक्यो । सूर्य पनि हाम्रै हुन्छ भनेको देख्दा । सेटिङ शब्दभित्र शंका गर्नुपर्ने भएको छ ।”

उनले संवैधानिक निकायमाथि विश्वास रहेको बताए पनि भरोसा नरहेको प्रस्ट पारे । उनले संसद् पुन:स्थापना हुनेमा आशंका प्रकट गर्दै जनताले फैसला गर्ने बताए । “संवैधानिक संस्थाप्रति अविश्वास र गुनासो छैन । गलत फैसला भयो भने के गर्ने त्यतिबेला सोचौंला । तर हामीलाई सबैभन्दा भरोसा जनतामाथि नै छ । इतिहासको निर्माता जनता हो अरु कोही होइन । जनताले सडकबाटै ठूलो ठूलो फैसला गरेको छ ।”

ओलीप्रति कटाक्ष : नांगै छ, हाँस्दै हिँड्या छ
कार्यक्रममा प्रचण्डले ओली मलामी जाँदा हास्‍ने र जन्ती जाँदा रुने प्रवृत्तिको मान्छे भएको टिप्पणी गरेका छन् । उनले देश पीडामा भएका बेला ओली कमेडी गर्दै हिँडेको बताए । उनले ओली गणतन्त्रविरोधी भएकोसमेत बताए ।

उनले गणतन्त्र ल्याउँदा ओली रुँदै हिँडेको कटाक्ष पनि गरे । अहिलेको मुलुकको परिस्थिति सामान्य नभएको प्रचण्डको भनाइ छ । आफूहरुले ओलीलाई चिन्न ढिलो गरेको पनि उनले बताए । उनले ओलीलाई अस्वभाविक प्रवृतिको व्यक्ति भएको आरोपसमेत लगाए ।

“मलामी जाने बेला हाँस्दै हिँड्नुभएको छ । जन्त जाने बेलामा रुँदै हिँड्नुहुन्छ । यस्तो मान्छेलाई कसरी स्वभाविक मान्छे भन्न सकिन्छ ? सहज दिमाग हो त ?’’ उनले भने ।

उनले आफूहरुलाई प्रधानमन्त्री बन्नका लागि हिँडेको भन्ने ओलीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, ‘‘नांगै छ, हाँस्दै हिँड्याछ ।”

मणि थापाप्रति कटाक्ष : विचरा भनेर स्थायी कमिटीमा ल्याएको, मन्त्रीसँग साटे
प्रचण्डले कार्यक्रममा खानेपानी मन्त्री तथा स्थायी कमिटी सदस्य मणि थापाप्रति आक्रोश व्यक्त गरे । उनले आफूले विचरा भनेर स्थायी कमिटी सदस्य बनाएको र त्यसलाई मन्त्री पदसँग साटेको आरोप लगाए । अहिले नयाँ जोगीले जसरी खरानी घसेर हिँडेको आफूले चिन्दै नचिन्ने भन्दै कटाक्षसमेत गरे ।

“उनीसँग लोभ लालचमा केही नयाँ जोगी । मलाई त लाज लागेको छ । ती जोगीहरु देखेर खरानी घस्याछन् । अनुहार नै चिनिँदैन । कहिलेकाहीँ आफैंलाई देखेर हैरान हुन्छु,’’ प्रचण्डले कटाक्ष गरे, “एकजना मान्छे नभएकालाई ल्याएर मैले जे भए पनि विचरा भनेर स्थायी समितिमा ल्याइदिएको त मन्त्रीका लागि साटे । उनको मैले अनुहार नै चिन्दिनँ आजभोलि । सबैभन्दा बढी खरानी तिनले घस्याछन् ।”

‘बरु आधा पेट खाऔं, पटुका कसेर आन्दोलनमा होमियौं’
कार्यक्रममा वरिष्‍ठ नेता झलनाथ खनालले ९ गतेको प्रदर्शनमा दुई लाख जनता सडकमा उतार्ने उद्घोष गरे । उनले त्यो दिन उपत्यका तहसनहस बनाउने गरी आन्दोलनमा जुट्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए । “९ गते दुई लाख जनता काठमाडौंको सडकमा उतारौं । बरु हामी आधा पेट खाऔं, पटुका कसेर हिँडौं । आन्दोलन सफल पार्नै पर्छ,’’ खनालले भने ।

भीम रावलले सुनाए कविता
कार्यक्रममा स्थायी कमिटी सदस्य भीम रावलले ओलीप्रति लक्षित कविता सुनाएका थिए ।
संविधान तिमीले कुल्चियौ किन जनमत बिर्सेर,
तिम्रा ती वाचा संविधानसभा हेर्छौं कि फर्केर…
कविता सुनाएका थिए । उनले कविता वाचन गर्ने क्रममा चर्को हुटिङ लागेको थियो ।

त्यस्तै उनले ओलीलाई सुधार्न नसिकिएको र बालुवाटार नै गन्हाउने भएको टिप्पणी गरेका थिए । “हामीले पद्धतिका डल्लाले उहाँलाई सफा गर्ने प्रयास गर्यौं । हामीले जनमतको डल्लाले बाटो दुखाउने प्रयास गर्यौं । ड्रमका ड्रम पद्धति सकिए, सिद्धान्त सकिए । जनतामको व्यापक ठूलो डल्लोले खोज्यौं । तर, एमाले भन्ने पार्टी थियो त्यसमा उहाँ हरक्षण गुटबन्दी गर्नुहुन्थ्यो,’’ रावलको कटाक्ष थियो, ‘‘विधि पद्धति उल्लंघन गर्नुहुन्थ्यो, हामीले उहाँलाई सम्हाल्दै सम्हाल्दै, डल्लाले धुँदै-धुँदै ल्याएको त पार्टी एकतापछि प्रधानमन्त्री पदमा गएपछि त यति गनाउनुभएछ, यति फोहोर भएछ ती कुनै डल्ला काम लागेनन् । त्यसकारण हामी दुखित छौं ।’’बाह्खरी