आज तराईमा होली मनाईदै, जनकपुरधाममा भोली

फाइल फोटो
 

विजय कुमार सिंह-
जनकपुरधाम, चैत्र ७ गते ।
तराईमा आज(बिहिवार) धुमधामका साथ होली मनाईदै छ । पहाडका जिल्लाहरुमा बुधवार नै होली मनाएको छ । तर, मिथिलाको प्राचिन राजधानी जनकपुरधाममा भने शुक्रवार होली मनाईने छ ।

पहाडी क्षेत्रमा होलिका दहनअघि नै होली मनाउने चलन भए पनि तराईमा भने फागु पूर्णिमाको रातमा ‘होलिका दहन’ गरेपछि त्यसको भोलिपल्ट होली मनाउने प्रचलन छ ।

तर, जनकपुरधाममा १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु जनकपुरको अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट होली मनाईन्छ । मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु तथा स्थानियहरुले बिहिवार जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेको छ ।

बिहीबार अन्तरगृह परिक्रम सकिएलगत्तै शुक्रबार जनकपुरधाममा होली मनाइने जानकी मन्दिरका सहमहन्थ रामरोशनदास वैष्णवले जानकारी दिनुभयो ।

यस्तै, होली पर्वको अवसरमा संघीय सरकारले पहाडमा ६ गते बुधवार र तराईमा ७ गते बिहिवार सार्वजनिक बिदा दिएको छ । यता, प्रदेश २ सरकारले होली पर्व मनाउन प्रदेशभर बिहीबार र शुक्रबार गरी दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ ।

Scroll to Top