• The Public Today
  • आज मिथिलाञ्चलमा हर्सोल्लासपूर्वक होली मनाईदै


    शैलेन्द्र महतो-
    जनकपुरधाम, चैत्र ८ गते ।
    आपसी सद्भाव, मित्रता, स्नेह एवं प्रेमको महान पर्व होली मिथिलाञ्चलमा आज हर्सोल्लासपूर्व मनाईदै छ । यस अघि बुधबार हिमाल, पहाड र बिहीबार मिथिलाञ्चल बाहेक तराई मधेशमा होली पर्व मनाईएको थियो । तर मिथिलाञ्चलमा भने १५ दिने मिथिला मध्यमा परिक्रमा समापनको भोली पल्ट मात्र होली पर्व मनाउने परम्परा रहिआएको छ ।

    बिहीबार जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यमा परिक्रमा सम्पन्न भएकाले आज शुक्रबार जनकपुर लगायत मिथिलाञ्चलमा होली पर्व मनाइँदै छ । जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णव भन्नु हुन्छ ‘मिथिलाञ्चलमा मिथिला मध्यमा परिक्रमा समापन भएको भोली पल्ट मात्र होली खेल्ने परम्परा छ । त्यसैले आज होली मनाइँदै छ ।’

    मिथिलाञ्चलमा मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको भोली पल्ट मात्र होली पर्व मनाउनुको कारण के हो भन्ने विषयमा मैथिली संस्कृति विद एवं वरिष्ट साहित्यकार डा. विमल भन्नु हुन्छ ‘ परिक्रमाबाट आएका यात्रुहरु थाकेका हुन्छन् । त्यसैले त्यो दिन मिथिलाञ्चलमा होली पर्व मनाईदैन । थकाइ मार्छन् र भोली पल्ट हर्सोल्लासपूर्वक होली पर्व मनाउने गर्दछन् ।’

    परापूर्वकालमा असत्य माथि सत्यको विजय भएकोे विभिन्न धामिर्क ग्रन्थहरुमा उल्लेखित किंवदन्ती अनुसार मिथिलाञ्चलबासीहरु प्रत्येक वर्ष विशेष रुपले होली पर्व मनाउने गर्दछन् । त्यस्तै त्रेता युगमा भगवान रामले आफनो ससुराली जनकपु्रमा आएर मिथिलानीहरुसंग होली खेलेको स्मरणमा आज मिथिलाञ्चलबासीहरु घरघरमा मालपुवा, खीर, पुरी लगायत विभिन्न प्रकारका मिष्ठान परिकार बनाएर खाँदै रमाउँदै रंग, गुलाल, अविर एक अर्कालाई लगाएर होली पर्व मनाउँदैछन् । मेलमिलाप एवं आपसी सद्भाव सुमधुर बनाउने पर्व भएकाले होली पर्व एवं फगुवा मिथिलाञ्चलबासीको लोकप्रिया पर्व रहेको छ ।

    वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलमा होली पर्व अनौपचारिक शुरु भएको मानिन्छ । मिथिलाको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा धार्मिक तथा एतिहासिक स्थल महोत्तरीको भंगहा नगरपालिका स्थित कञ्चनवन पुगेपछि त्यहाँबाट नै होली पर्व विधिवत शुरु भएको मानिन्छ । त्यस स्थलमा भगवान श्रीरामले सीतासंग होली खेलेको धर्मिक विश्वास अनुसार त्यहाँ परिक्रममा सहभागिहरुले एक आपसमा अविर दलेर होली खेलेपछि पर्व विधिवत रुपमा शुरु हुने गर्दछ । फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न भएपछि त्यसको भोली पल्ट मिथिलाञ्चलमा हर्सोल्लास पूर्व होली पर्व मनाउने प्रचलन रहेको छ ।

    होलीको प्रारम्भसंगै मिथिलाञ्चलमा होरी गायन पनि शुरु हुन्छ । तरपछिल्लो समय आधुनिकताको कारण होरी एवं जोगिरा गायन लोप हुन थालेको छ । शहरी क्षेत्रमा लोप नै भएपनि ग्रामिण भेगमा अहिले होली पर्वको दिन साँझ होरैयाहरु समुहमा ढोलक, झाईल, डम्फा, मृदंग जस्ता बाजागाजको तालमा प्रत्येकको घरदैलोमा गएर जोगिरा गाने गर्दछन् । यसले मिथिलाञ्चलको होलीलाई थप आकर्षक बनाउछ ।

    पछिल्लो होरी जोगिरा गाउने प्रचलन कम भएपनि वसन्त ऋतुको आगमनसँगै फगु पूर्णिमासम्म रेडियो, एफएम र लोडिस्पिकरमा मिथिलाञ्चलको गाउ,ँ घर शहजर बजार जतातै विभिन्न भाषामा घन्किने होलीको सुमधुर गीतले माहोल नै होलीमय बनेको हुन्छ । तर पछिल्लो समय अश्लिल गीत पनि घन्काउने प्रवृति हावी भएको छ । 
    मिथिलाञ्चलमा होली पर्व नजिकीदै गर्दा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी शुभकामना साटासाट गर्ने गर्छन् । यस्तै होलीको मौलिक तथा रम्रा पक्षहरुको संरक्षण सम्बद्र्ध र जगेर्ना गर्न विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि अयोजन हुने गर्दछन् । होली पर्वमा ठुलोलाई आदर र सानालाई माया गरी अविर लगाउने परम्परा भएतापनि पछिल्लो समय मनोरञ्जन प्राप्त गर्ने नाममा जोर जवरजस्ती रंग अविर लगाउँने, लोला हाल्ने, फोहर पानी छ्यप्ने जस्ता विकृतिहरु बढ्दै गएको देखिन्छ । त्यस्तै अचेल बजारमा आउँने होलीको नयाँ गीतहरुमा अश्लिल शब्दहरुको प्रयोग भएको र त्यही गीत गाउँसमाजमा बज्ने हुनाले होली पर्वको आस्थामाथि बज्रपात हुनथालेकोमा मिथिलाञ्चलका बुद्धिजिवीहलाईलाई चिन्तित बनाउन थालेको छ ।

    समयको परिवर्तन संगै अहिलेको परिस्थितसम्म आईपुग्दा आपसी सदभाव, मित्रता, स्नेह एवं प्रेमको रुपमा परिचित होली पर्वमा अश्लिलता, हिंसा, बदला, लगायतका विकृति एवम कुरिती विकसीत हुन थालेको मिथिलाका संस्कृतिक विदहरुलाई भान हुन थालेको छ । मैथिली सांस्कृति विद एवं वरिष्ट साहित्यकार डा. राजेन्द्र विमल भन्नु हुन्छ ‘सद्भावको अत्यन्तै मौलिक पर्व होलीलाई विगार्ने सबै प्रकारका विकृत पक्षलाई हटाएर राम्रा पक्षको संरक्षण एवं सम्बद्र्धन गर्नुपर्छ ।’ होली सैहादपूर्ण बाताबरणमा खेल्नुपर्ने उहाँको भनाई छ ।

    होली पर्वको अवसरमा प्रदेश २ सरकारले आज पनि सार्वजनिक विदा दिएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज


    प्रतिक्रिया दिनुहोस