शुभ नारायण यादव-
सप्तरी, चैत्र ९ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित जनता राप्रावि विद्यालय बेल्ही मल्हनियामा छात्रवृति वितरणमा आर्थिक अनियमितता भएको रहस्य खुलेका छन ।
सो विद्यालयमा अध्ययनरत १९४ जना छात्रछात्राहरुका लागि आएको छात्रवृति रकम वितरणमा विद्यालयका प्रअ ,वडाअध्यक्ष ,विद्यालय व्यवस्थापन समिति लगायतले आर्थिक अनियमितता गरेको आरोप स्थानीय अभिभावकहरुले लगाएका छन । प्रति विद्यार्थी ४ सयका दरका छात्रवृति रकम आएपनि विद्यालयका प्रअ सहितकाहरुले थोरै रकम दिएर खाली भपाईमा सही गराएर आर्थिक अनियमितता गरेको आरोप स्थानीय विजय कुमार यादवले लगाएका छन ।
त्यस्तै अन्य निजि विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई समेत छात्रवृति रकम वितरण गरेको यादवको भनाई छ । गाउँपालिकाले प्रति विद्यार्थी ४ सयका दरले छात्रवृति रकम वितरण गर्न निर्देशन दिएपनि विद्यालयका प्रअ राम प्रकाश यादव ,वडाअध्यक्ष दिनेश्वर मिश्र ,श्रोत ब्यक्ति योगेन्द्र प्रसाद यादव ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिल यादवसहितले खाली भपाईमा विद्यार्थीहरुको सही छाप गराई ३ सय रुपैयाँका दरले मात्र छात्रवृति वितरण गरेको आरोप स्थानीय अभिभावकहरुको रहेको छ ।
यता सो सम्बन्धमा विद्यालयका प्रअ राम प्रकाश यादवले आफुहरुलाई पठाएको छात्रवृति रकममा कुल रकममा २० प्रतिशत गाउँपालिकाले नै कटौती गरेर पठाएको तथा आएको रकममा १६८ दलित छात्रा तथा २७ जना अन्य छात्र गरी कुल २९५ जनालाई वितरण गरेको दावी गर्नुभयो ।
यता सो सम्बन्धमा तिलाठी कोईलाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजु झासँग सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुन सकेन ।