निर्मला बलात्कार-हत्या प्रकरण : निलम्बित डीएसपी जिसी अदालतमा उपस्थित

 

कञ्चनपुर, चैत्र ११ गते । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का निलम्बित डीएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् । 

निलम्बित डिएपसी जिसीमाथि पनि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएको लगायतका  आरोप छन्। जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका रजिस्टार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् ।

अदालतले यस प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज  विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो। आरोपित ६ प्रहरी तत्कालै अदलतमा उपस्थित भएका थिए भने विष्ट गत मंगलबार अदालतमा उपस्थित भए।

बयानपिछ उनीहरू सातै जना धरौटीमा रिहा भइसकेका छन् । अदालतले फागुन २६ गते ३५ दिने म्याद जारी गरेको १६ औं दिनमा डिएसपी जिसी अदालतमा उपस्थित भएका हुन् ।

Scroll to Top