मधेश सरकारले नेपाल प्रहरीलाई दियो १२ वटा गाडी



द पब्लिक टुडे
गौशाला, भदौ ८ गते ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रहरीलाई ती गाडी हस्तान्तरण गरेका छन् ।

मधेश प्रदेशको शान्तिसुरक्षा चुस्त–दुरुस्त बनाउने उद्देश्यका साथ आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई ती गाडी उपलब्ध गराइएको मन्त्री महतोले जानकारी दिए ।

इलाका प्रहरी कार्यालयहरूमा चन्द्रपुर इलाका प्रहरी कार्यालय, गरुडा इलाका प्रहरी कार्यालय, गोडैता इलाका प्रहरी कार्यालय र गडहिया इलाका प्रहरी कार्यालयलाई ती सवारी साधन उपलब्ध गराइएको बताइएको छ ।

हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

प्रदेश सरकारले प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँमा खरिद गरेको जनाएको छ ।

Scroll to Top