• The Public Today
  • धेरै बच्चा जन्माएका मुटु रोगको खतरा बढी


    एजेन्सी , चैत १४ पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।

    “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्बन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,” अध्ययनकर्ताहरूले भनेका छन् ।

    उनीहरुका अनुसार अहिले भने परिवारको आकार वा बच्चाको सङ्ख्या र महिलालाई हुने मुटु रोगको सम्भावनाका बारेमा अध्ययन गरिएको छ ।

    यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता सारा हिप्पले पाँच वा पाँच भन्दा बढी बच्चा भएका ३० प्रतिशत बाबुआमालाई विभिन्न प्रकारको मुटुसम्बन्धी रोग भएको पाइएको जानकारी दिइन् ।

    तर एक वा दुई सन्तान भएका मध्ये २२ प्रतिशत बाबुआमालाई मात्र यस्तो समस्याहरू देखिएको उनले बताइन् ।

    त्यसैगरी बालबालिका नै नभएकामध्ये २१ प्रतिशतलाई मुटुसम्बन्धी समस्याहरु हुने गरेको पाइएको अध्ययनले देखाएको छ । यो अध्ययन “जर्नल अफ एजिङ एण्ड हेल्थ”मा प्रकाशित भएको छ ।

    अध्ययनमा झण्डै २५ हजार जना समेटिएका थिए । उनीहरु ५० वर्ष वा त्यो भन्दा धेरै उमेरका थिए ।
    अध्ययनमा सहभागी भएकामध्ये झण्डै एक चौथाई व्यक्तिहरू दुई वर्षदेखि मुटुसम्बन्धी रोग रहेको बताएका चिकित्सकहरूले जनाएका थिए ।

    “अध्ययनले महिला पुरुष दुबैलाई जति धेरै बच्चा भयो त्यति धेरै मुटु रोगको समस्या हुने गरेको देखाएको छ,” अध्ययनकर्ता हिप्पले भनिन् ।


    क्याटेगोरी : विदेश


    प्रतिक्रिया दिनुहोस