इण्डियन प्रिमियर लिग : काेलकाताको दाेस्राे जित

चैत १४, इण्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो जित हात पारेको छ । १२ औं संस्करणको आफ्नो दोस्रो खेलमा कोलकताले किंग्स् इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको छ।

कोलकत्ताको घरेलु मैदान इडेन गार्डेनमा घरेलु टोलीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको पन्जाबले पुरै २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो। पन्जाबका लागि मायांक अग्रवालले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै डेभिड मिल्लरले अविजित ४३ रन बनाए। क्रिस गेल २० रनमा आउट भए।

कोलकत्ताका आन्द्रे रसेलले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रनको विशाल स्कोर तयार गर्यो। कोलकत्ताको फराकिलो स्कोरमा नितिश राना र रोबिन उथप्पाले अर्धशतकीय इनिङ्स खेले। रोबिन ६७ रनमा अविजित रहँदा नितिशले ६३ रनको योगदान दिए। यस्तै आन्द्रे रसेलले ४८ तथा सुनिल नारिनेले २४ रन बनाए । पन्जाबका मोहमद सामी, भरुण चक्रवर्ती,हार्डुस भिल्जोइन र एन्ड्रयु जेम्सले एक एक विकेट लिए।

जितसँगै कोलकत्ताले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा कोलकत्ताले घरेलु मैदानमानै सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो। रविचन्द्रन आश्विनको कप्तानीमा रहेको पन्जाबको यो पहिलो हार हो । पन्जाबले २ खेलबाट २ अंक जोडेको छ। पन्जाबले पहिलो खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो।

Scroll to Top