जनकपुरधाम, चैत्र १६ गते । प्रदेश नं २ मा एसइई परिक्षा स्थगित गरेको निर्णयको विरोधमा आज परीक्षार्थीहरुले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर सहितका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
शनिवार बिहानै जनकपुरको भानुचोकमा परीक्षार्थीहरुले बीच चोकमै बसेर नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलविरुद्ध चर्को नाराबाजी गर्दै आफूहरुलाई न्याय दिनुपर्ने नारा लगाउँदै टायर बालेर जुलुस प्रदर्शन गरेका छन्।
उनीहरुले बीच सडकमै बसेर ’हामीलाई न्याय चाहियो, शिक्षामन्त्री मुर्दावाद’ को नारा लगाएका छन् । विभिन्न सञ्चारमाध्यमहरुमा परीक्षा स्थगितको समाचार बाहिरिए पनि ग्रामीण भेगमा सञ्चाचारको पहुँच न्यून भएकोले थाहै नपाएर परीक्षा केन्द्र पुगेपछि स्थगित भएको खबर सुनेको कतिपय विद्यार्थीको भनाइ छ ।
उनीहरुले बिहानैदेखि जनकपुर महेन्द्रनगर सडकखण्डमा चक्काजाम गरेका छन्। चक्काजामका कारण सवारी साधनको आवागमन समेत ठप्प भएको छ ।
उनीहरुले आफूहरुको जीवनसँग गम्भीर खेलबाड गरेको भन्दै क्षीरेश्वरनाथ नगरपािलकाका मेयर योगेन्द्र पंजियारको घरअगाडि समेत प्रदर्शन गरेका छन् ।
प्रश्नपत्र कहाँबाट आउट भएको बारे अझै पुष्टि भएको छैन भने प्रदेश सरकार, केन्द्र सरकार त्यसको छानबिनमा लागेका छन् । परीक्षार्थीहरुले एक जनाको गल्तीका कारण सम्पूर्ण प्रदेशकै परीक्षार्थी प्रभावित भएको भन्दै आक्रोशित बनेका हुन् ।
यो पनि पढ्नुहोस !
एसईई : प्रदेश २ मा चैत २१ गतेसम्मका सम्पूर्ण परीक्षा स्थगित
एसईई : बारामा परीक्षार्थी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त