फेरि किर्ते उपभोक्ता समिति

राजविराज, वैशाख १२ – नागरिकता र छाप किर्ते गरी उपभोक्ता समिति गठन गरेको आरोपमा दुई नेता हिरासतमा रहेकै बेला छिन्नमस्ता गाउँपालिका–५ को सडक ग्राभेल योजनामा किर्ते उपभोक्ता समिति बनाइएको खुलेको छ ।

यो प्रकरणमा पनि पूर्वसांसद तथा राजपा केन्द्रीय सदस्य बीपी यादवको संलग्नता रहेको स्रोतको दाबी छ । यादव र राजपा केन्द्रीय सदस्य हरि मण्डल हिरासतमा छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिकामा २५ लाख रुपैयाँको योजनामा किर्ते समिति बनाएको आरोप लागेका उनीहरूमाथि सोमबार सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

किर्ते समिति फेला परेको पछिल्लो योजना १५ लाख रुपैयाँको हो । जुन प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित छ । उक्त समिति छिन्नमस्ता–५ का वडाध्यक्ष रामानन्द पण्डित अध्यक्षताको बैठकले गठन गरेको पूर्वाधार विकास कार्यालयमा रहेको योजनाकोफाइलमा उल्लेख छ ।

जबकि पण्डित वडा नम्बर ४ का अध्यक्ष हुन् । ‘५ नम्बर वडाको योजनाका लागि मेरो अध्यक्षतामा कसरी बैठक हुन्छ त ?,’ उनले भने, ‘त्यस्तो कुनै पनिउपभोक्ता समिति मेरो अध्यक्षतामा भएको बैठकमा गठन भएको छैन ।’

फाइलमा छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले गरेको भनिएको सिफारिससमेत संलग्न छ । मंसिर २४ गतेको मितिमा चलानी नम्बर ३१० राखी गरिएको सिफारिसपत्र पनि किर्ते नै छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीले उक्त पत्र खानेपानी तथा सरसफाइ १ नम्बर डिभिजन कार्यालयलाई पठाइएको बताए । ‘पूर्वाधार विकास कार्यालयका नाममा कसरी गयो,थाहा भएन,’ उनले भने ।

उपाध्यक्ष मण्डलले खानेपानी कार्यालयलाई गरिएको सिफारिसमा हस्ताक्षर गरेको र सो पत्र वडा नम्बर ५ का अनिल मिश्रलाई दिएको बताइन् । मिश्रले भने उक्त सिफारिस पूर्वसांसद यादवको आग्रहमा गाउँपालिकाबाट लिएको र उनैलाई दिएको सुनाए । ‘३१० चलानी नम्बरको पत्र त खानेपानी डिभिजनलाई सम्बोधन गरिएको हो, मैले पूर्वसांसद बीपी यादवलाई दिएँ, पूर्वाधार विकास कार्यालयको नाम कसरी भयो,मलाई थाहा भएन, बीपीजीले नै भन्नसक्नुहुन्छ,’ उनले भने ।

Scroll to Top