काठमाडौं, भदौ १० गते ।
रसुवा बाढीबारे सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जानकारी गराएका छन् ।
यसअघि गृहमन्त्री सुधन गुरुङले जानकारी गराउने भनिएपनि उनी व्यस्त रहेको भन्दै परराष्ट्रमन्त्री खनालले जानकारी गराएका हुन् ।
मन्त्री खनालका अनुसार आज बिहान ८ बजेर ४० मिनेटतिर रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो । यसले रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँमा निकै ठूलो क्षति पुर्याएको उनले बताए ।
यस्तै, बाढीले धादिङ र नुवाकोटलगायतका क्षेत्रमा पनि क्षति पुगेको परराष्ट्रमन्त्री खनालले बताए ।
बिहान ८ बजेर ३७ मिनेटमा त्यस क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेका कारण बाढी आएको भन्ने प्रारम्भिक सूचना आएको उनले बताए । तर, यो सूचनालाई पुष्टि गर्न बाँकी रहेको उनले जानकारी दिए ।
मन्त्री खनालका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेका छन् ।
प्रधानमन्त्री शाहले भने विपद्को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोध गरेको मन्त्री खनालले संसद्लाई जानकारी दिए ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर आवश्यक निर्णय गरिएको पनि उनले जानकारी दिए ।





