राजविराज, बैशाख १४ –पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत पक्राउ परेका छन्। सप्तरी प्रहरीको अनुरोधमा सिरहा प्रहरीले गोइतलाई पक्राउ गरेको हो। कीर्ते उपभोक्ता समिति गठन प्रकरणमा अनुसन्धानका क्रममा गोईतलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ।
सप्तरी प्रहरीको अनुरोधमा गोईतलाई सप्तरी पठाइएको सिरहाका डिएसपी माधवराज खरेलले पुष्टि गरे। प्रदेश २ को भौतिक पुर्वाधार बिकास मन्त्रालयद्धारा संचालित योजना अन्तरगत सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा कीर्ते उपभोक्ता समिति गठन गरिएको प्रकरणमा सिडिई गोइतमाथि छानबिन गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ।
पूर्वाधार विकास डिभिजन कार्यालय सिरहा अन्तर्गतको सम्पर्क ईकाई कार्यालय राजविराजमा छ। सोही प्रकरणमा प्रहरीले पूर्व सासंद तथा राजपा नेपालका केन्द्रीय सदस्य विपी यादव तथा राजपा अर्का केन्द्रिय सदस्य हरि मण्डललाई नियन्त्रणमा लिई सकेको छ।
रातो पासपोर्ट दुरुपयोग काण्डमा मुछिएका पूर्व सांसद यादव राजगढ गाउँपालिका–३ नर्घोका हरि मण्डल जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा छन्। मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजकसमेत हुन्।
दुवैमाथि सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अनुसन्धान भइरहेको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।
यादव र मण्डलसहितको संलग्नतामा अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप कीर्ते गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न कीर्ते उपझोक्ता समिति गठन गर्न छाप कीर्ते गरिएको प्रहरीको भनाइ छ।