मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी : नेता थापा

जाजरकोट, जेष्ठ २ गते । नेपाली कांग्रेसका नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको उनले बताए ।

प्रेस स्वतन्त्रता विरोधी उक्त विद्येयक विरुद्ध सञ्चार जगत मात्र होइन आम नेपाली जनता पनि जाग्नुपर्ने थापाको भनाई थियो ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तगत नेपाली कांग्रेस पार्टी जाजरकोट क्षेत्र नं २, क्षेत्रिय कार्य समितिले थलहबजारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पूर्वमन्त्री समेत रहेका थापाले दुई तिहाईको सरकारले नागरिकको अधिकार खोस्दै गएको बताए ।

ओली सरकारले अदालत, मानव अधिकार आयोग, अख्तियार, सञ्चार लगायत क्षेत्रलाई समेत नियन्त्रणमा राख्ने हर्कत गरेको उनले दाबी गरे। ‘गणतान्त्रिक व्यवस्थामा जनताले नागरिक अधिकारको उपभोग गर्न पाउनु पर्छ। त्यस्तै पत्रकारले गलतको कामको विरोधमा लेख्न र बोल्न पाउनुपर्छ,’ थापाले भने ।