लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

Facebook
Twitter
WhatsApp
Print

काठमाडौं, जेष्ठ ६ गते । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।  आफुहरुले लामो समय देखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराए ।

सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले सांसद चौधरीलाई बोल्न समय दिएका थिए ।

सभामुख कृष्णबहादुर महराले राजपाले उठाउदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए ।

सभामुख महराले भने ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पर्याप्त ध्यान गएको मैले ठानेको छु । कारण सहित केही समय पछि सरकारले उचित जवाफ दिन्छ । माननीय सदस्यहरु उहाँले उठाएको विषयहरु मेरो त ध्यानाकर्षण भएकै छ ।’

यसअघि संसदको अघिल्लो अधिवेशनमा पनि राजपा सांसदहरुले पटक पटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका छन् । तर सरकारले भने अध्ययन गरिरहेको र उपयुक्त समयमा सार्वजनिक गर्ने जवाफ दिँदै आएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार