‘समयमा काम नसक्ने ठेकदारले उन्मुक्ति पाउँदैन’

 

काठमाडौं, जेष्ठ १७ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले समयमा काम नसक्ने ठेकदारको ठेक्का सम्झौता खारेज गर्ने बताएका छन् ।

शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा उनले विकास निर्माणमा ढिलासुस्ती रोक्न सार्वजनिक खरिद नियमावली सशोधन गरिएको भन्दै समयमा काम नसक्ने ठेकदारले उन्मुक्ति नपाउने बताएका हुन् ।

‘नेपाल सरकार, सम्बन्धित विभागको निर्देशन नमान्ने, राजनीतिक पावरका आधारमा काममा ढिलासुस्ती गर्नेलाई कारबाही गर्न लागिरहेका छौं’, मन्त्री महासेठले भने, ‘त्यस्ता ठेक्का सम्झौताहरु नियमावली अनुसार खारेजीमा जान्छन् । कालोसूचीमा पर्छन् ।’

सरकारले गरेको नियमावली संशोधनको विरोधमा निर्माण व्यवसायी आन्दोलनमा उत्रिसकेका छन् । तर मन्त्री महासेठले संशोधित व्यवस्थाले निर्माण व्यवसायीलाई नै फाइदा पुग्ने दावी गरे । ‘आज सम्झौता गरेर भोलिदेखि नै काम गर्ने वातावरण बनेको छ । यो कुराको ग्यारेण्टी भएपछि व्यवसायीलाई नै थप सहज हुन्छ’ उनले भने ।

Scroll to Top