काठमाडौंमा दिनभर मालवाहक गाडी चलाउन नपाइने

काठमाडौं, जेष्ठ १९ गते । काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक गाडी चल्न नपाउने भएका छन् । यातायात व्यवस्था विभागले दिउँसाे मालवाहक गाडी उपत्यकामा चल्न नदिने निर्णय गरेको हो ।

यो निर्णय आगामी असार १ गतेदेखि लागु हुने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । निर्देशक दाहालका अनुसार यो नियम लागु भएपछि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उपत्यकाभित्र मालवाहक गाडी चलाउन पाइने छैन । यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।  

आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।

काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि विभागले यस्तो कदम चालेको हो । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

Scroll to Top