काठमाडौं, जेठ ३०– जवानीमा हत्या जस्तो जघन्य अपराध गरेका एक व्यक्ति बुढ्यौली पक्राउ परेका छन्। ३७ वर्षअघि २०३९ सालमा एक व्यक्तिको हत्या गरेर फरार भएका वीरबहादुर चौधरी ७६ वर्ष पुग्दा समातिए।
२०३९ जेठ ८ गते बाराको महागढीमाई नगरपालिका–५ का सुकदेव साहलाई चौधरीले घाँटी रेटेर हत्या गरेका थिए। सोही नगरपालिका–११ मधुरी टोलका चौधरीले साहलाई राति उनको घरबाट बोलाएर एकान्त ठाउँमा लगेर हत्या गरेका थिए। त्यसबेला प्रधानपञ्जको चुनाव थियो। प्रधानपञ्च उम्मेदवारका कट्टर विरोधी थिए साह। प्रधानपञ्चको विरोधी हुनु नै उनको हत्याको कारण बन्यो।
चुनाव प्रचारप्रसारमा रहेका चौधरीसहितको टोलीले साहलाई घरबाट बोलाएर हत्या गरेको थियो। हत्यापछि उनको शव नजिकै रहेको डेरा नदीमा फालिएको थियो। साहको हत्या गर्दा चौधरी ३९ वर्षका हट्टाकट्टा व्यक्ति थिए। अहिले भने चौधरीको गाला चाउरी परिसकेका छन् भने कपाल पनि सेतै छ। ७६ वर्षको उमेरमा उनले अब २० वर्ष कैद सजाय भोग्नुपर्नेछ।
हत्यालगत्तै फरार भएका चौधरीले ३७ वर्षसम्म प्रहरीलाई छक्याउन सफल भएका थिए। साहको हत्यापछि कर्तव्य ज्यान मुद्दामा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालत हेटौंडाले २०४३ फागुन १९ गते र सर्वोच्च अदालतले २०४५ असोज १७ गते चौधरीलाई २० वर्ष कैदको फैसला सुनाएको थियो।
निकै चतुर चौधरीले प्रहरीलाई छक्याउँदै आएका थिए। तर जिल्ला प्रहरी कार्यालय बाराले विशेष सुराकीको आधारमा नेपाल-भारत सीमाबाट उनलाई बुधबार पक्राउ गर्न सफल भएको छ।
पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि आज कारागार कार्यालय वीरगञ्ज-पर्सा पठाइएको बाराका एसपी सानुराम भट्टराईले नेपाल लाइभलाई जानकारी दिए।