पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, जेष्ठ ३१ गते । संसदीय समितिले काठमाण्डाैको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

[custom-facebook-feed]

संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधीन पुल निर्माणमा गम्भीर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । उपत्यका सडक विस्तार आयोजनाको निर्देशनविपरीत गुणस्तरहीन काम गरेको पाइएकाले त्यस कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

समितिले त्यस पुलको स्थलगत निरीक्षणसमेत गरेको थियो । त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै  पुलको निर्माण कार्यअघि बढाउनु भनेकोमा त्यस कम्पनीले त्यसविपरीत काम अघि बढाएकाले कारबाही गर्न सिफारिस गरेको हो । दिएको निर्देशनसमेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुशी गर्ने त्यस कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।

समितिले त्यस पुलको पुन: डिजाइन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्य जीपछिरिङ लामाले त्याे पुलको निर्माण कार्यमा ढिलाइ गर्न नहुनेमा जोड दिनु भएको थियो । उहाँले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि त्याे पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो । यसले अन्य आयोजनाहरुको काम पनि सुरु गर्ने अनि अलपत्र छाड्ने काम गरिरहेको छ ।

Scroll to Top