जेठ ३२ गते , घाइते स्टार खेलाडी नेयमार बिना मैदानमा उत्रेको ब्राजिलका लागि फिलिपे काउन्टिन्हो चम्किँदा कोपा अमेरिकाको पहिलो खेलमा बोलिभियामाथि ३–० को सहज जित हासिल गरेको छ ।
ब्राजिलको जीतमा काउन्टिन्होले दुई तथा एभर्टन सोआरेसले एक गोल गरे । सबै गोल ब्राजिलले दोस्रो हाफमा गरेको थियो ।
दक्षिण अमेरिकी क्षेत्रको महादेशस्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका कपको ४६औं संस्करण शनिबार बिहानदेखि ब्राजिलमा सुरु भएको हो ।
जुलाई ७ तारिखसम्म सञ्चालन हुने कोपा अमेरिका कपमा एसियाली देश जापान र कतार सहित १२ टोलीको सहभागिता रहने छन् ।
सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया रहेका छन् ।
समूह ‘बी’ बाट अर्जेन्टिना, कोलम्बिया, पराग्वे, एसियाली टोली कतारले प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘सी’ मा उरुग्वे, साविक विजेता चिली, इक्वेडर र अर्को एसियाली टोली जापान रहेको छ । समूहका शीर्ष दुई टोली र दुई उत्कृष्ट तेस्रो टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
कोपा अमेरिका कप महादेश स्तरीय प्रतियोगिता भएकोले यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई मात्र समेटिने गरिन्थ्यो । यस प्रतियोगिता दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले आयोजना गर्दै आएको छ । कोन्मेबोल मा १० देश आवद्ध छन् ।
आयोजकले समय सयममा अन्य टोलीलाई पनि पाहुना (आगन्तुक) को रुपमा सहभागी गराउँदै आएको छ । त्यसैले यसपटक सन् २०२२ को विश्वकप आयोजक कतार र एसियाली फुटबलको पावर हाउस जापानलाई आगन्तुक टोलीको रुपमा समावेश गरिएको हो ।
कोपामा कतारको पहिलो सहभागिता हो । जापानले भने दोस्रो पटक कोपा खेल्दैछ । जापानले यसअघि सन् १९९९ आगन्तुक टोलीको रुपमा कोपा अमेरिका खेलेको थियो ।
कोपा अमेरिकाको सर्वाधिक सफल टोली उरुग्वेले हो । उसले सर्वाधिक १५ पटक उपाधि जितेको छ । त्यसपछि अर्जेन्टिनाले १४ पटक उपाधि उचालेको छ । आयोजक ब्राजीलले आठ पटक उपाधि जितेको छ । यसैगरी पराग्वे, चिली र पेरुले दुई दुई पटक तथा बोलिभिया र कोलोम्बियाले एक एक पटक उपाधि चुमेका छन् । चिलीले पछिल्लो दुई पटक लगातार उपाधि जितेको थियो । एजेन्सी