विवाह गर्ने आश देखाएर गर्भ भएपछि युवक बेपत्ता

महोत्तरी, असार २ गते – विवाह गर्ने आश देखाएर शारीरिक सम्बन्ध स्थापित गरी युवक बेपत्ता भएपछि सप्तरीमा १९ वर्षीय एक युवती बिचल्लीमा परेकी छिन्।

[custom-facebook-feed]

आईतबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पीडित किशोरीले युवक विरुद्ध बलात्कारको उजुरी दर्ता गराएकी छन्।

हनुमाननगर कंकालिनी नगरपालिका–१ का २३ वर्षीय अनिसकुमार मण्डलले आफूलाई प्रलोभनमा पारेर फसाएको किशोरीको आरोप छ।

घर/परिवारको दबाबमा परेर केटाले आफूलाई धोका दिएको किशोरीले गुनासो गरिन्। ‘पेटमा ४ महिनाको गर्भ छ, अब म कहाँ जाऊँ र के गरौं!’ उनले भनिन्,‘यसरी बिचल्लीमा पार्नेलाई झिकाएर कानुनी कारबाही हुनुपर्छ।’

मण्डलले किशोरीलाई विवाहको आश्वासन दिई शारीरिक सम्बन्ध बनाएका थिए। तर, परिवारले युवतीलाई अस्वीकार गरेपछि दुवै जना भागेर भारत पुगेका थिए। एक महिना भारतमा बसेपछि उतैबाट अनिस बेपत्ता भएको किशोरीले बताएकी छन्।

अनिसलाई खोज्दै नेपाल आएकी किशोरीलाई घर/परिवारले पनि बस्न नदिएपछि बलात्कारको उजुरी लिएर आएको र पीडितलाई न्याय दिलाउन उजुरी दर्ता गरिएको प्रहरीको भनाई छ।

‘आरोपित युवक फरार छन्, भारतमै लुकेर बसेको बुझिएको छ,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर रीता पौडेलले भनिन्,‘हामी युवकलाई नेपाल ल्याउन प्रयास गरिरहेका छौं, पीडितलाई न्याय दिलाउने कुरामा प्रहरीले कुनै कसर बाँकी राख्दैन।’

परिवारका सदस्यहरुसँग पनि घटनाको विषयमा छलफल भईरहेको बताएकी उनले समस्याको चाँडै समाधान खोजिने बताईन्।