सप्तरीको कञ्चनरुपमा पनि देखियो डेंगु

पब्लिक टुडे समाचारदाता
महोत्तरी, असार १२ गते ।
सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेंगुको संक्रमण देखिएको छ। सप्तकोशी नगरपालिका– २ की २६ वर्षीया अनिता राजधामीलाई डेंगुको संक्रमण देखिएको हो।

[custom-facebook-feed]

अनितालाई निरन्तर ज्वरो आएपछि उनी बुधवार कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जँचाउन पुगेकी थिइन्। ल्याबमा चेकजाँच गर्दा उनलाई डेंगुको संक्रमण देखिएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए।

उनलाई कसरी डेंगुको संक्रमण भयो भन्ने विषय खुलेको छैन। तर, उनका दिदीहरु धरानमा बसोबास गर्ने भएकाले उतैबाट संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

यसअघि कञ्चनरुप नगरपालिका–६ का २७ वर्षीय रामकान्त चौधरी र उनका भाइ देवकान्त चौधरीलाई पनि डेंगुको संक्रमण देखिएको थियो। असार ३ गते प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमै चेक गराएका रामकान्तको हाल विराटनगरस्थित कोशी अञ्चल अस्पतलमा उपचार भइरहेको छ भने देवकान्तको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

धरानमा ग्रिल तथा फलामको काम गर्ने दुवैलाई उतैबाट डेंगु रोग फैलिएको पुष्टि भएको छ।

डेंगुको संक्रमण देखिएपछि सप्तकोशी र कञ्चनरुप दुवै नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ।

घर वरिपरि सरसफाइ, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानी जमिरहने ठाउँमा मट्टितेल छर्कने लगायतका काम भइरहेको स्वास्थ्य शाखाले जानकारी दिएका छन्।

खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेका सिसा वा भाँडामा जम्मा भएको पानी तथा खाल्डाखुल्डीको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता ठाउँहरुमा पानी जम्न नदिन र जमेको पानीलाई पुर्ने व्यवस्था गर्न सचेतना जगाउने काम भइरहेको कञ्चनरुपका स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए।

डेंगु रोग, यसका लक्षण र बच्ने उपायका विषयमा जानकारी दिन स्वयंसेविका परिचालन गरिएको छ।

Scroll to Top