रोहित महतो / जनकपुरधाम, फाल्गुण २३ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले देशव्यापी आन्दोलनको तयारी शुरु गरेको छ। आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई अदालतले आजिवन काराबासको निर्णय सुनाएलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपा आन्दोलनको तयारीमा जुटेको हो।
राजपाका प्रवक्ता केशव झाले आन्दोलन गर्नेबारे मधेसका जिल्लाहरुमा पार्टी नेताबीच छलफल जारी रहेकाे बताए । ‘जिल्ला जिल्लामा छलफल भैरहेको छ, पर्सी मधेस आन्दोलनमा साथ दिएका थारुवान, संघीय समाजवादी फोरम लगायतका घटकसँग छलफल हुनेछ,’ उनले भने। छलफलबाटै आन्दोलनको स्वरुपबारे निर्णय हुने प्रवक्ता झाले जानकारी दिए।
मधेस आन्दोलनमा बालबालिकालगायत निर्दोष जनतालाई सुरक्षाकर्मीले हत्या गरेपनि उनीहरुलाई छुट दिएर जनताद्वारा निर्वाचित जनप्रतिनिधिलाई आजिवन कारावासको फैसला गर्नु अन्याय रहेको उनको भनाइ छ। यसअघि हिजो नै राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले सांसद चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने बताइसकेका छन्।
सांसद चौधरीलगायत ११ जनालाई आजिवन कारावासको फैसला भएलगत्तै कैलालीमा कुनै पनि बेला आन्दोलन हुनसक्ने भन्दै सुरक्षा निकायलाई हाइअलर्टमा राखिएको छ ।
याे पनि पढ्नुहाेस
कैलाली अदालतको फैसला मान्दैनौँ : नेता महतो