मधेसमा जनमतसंग्रह गराउन सरकार सहमत भएको राउतको दावी

 

काठमाडौं, फाल्गुण २४ गते ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर सरकारसँग ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले मधेसमा जनमत संग्रह गराउन राज्य पक्ष सहमत भएको दाबी गरेका छन् ।

डा. राउतले स्वतन्त्र मधेसको मुद्दामा सरकारले जनमत संग्रह गराउने सहमति जनाएको दाबी गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादलसँग संयुक्त हस्ताक्षर गरेका डा. राउतले आफ्नो फेसबुक स्टाटसमा ‘जनमतसंग्रह गराउन सरकार सहमत’ शीर्षकमा यस्तो लेखेका छन्– ‘नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) को मार्फत पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।’

गृहमन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा पृथकतावादी आन्दोलन छाडेको कुनै घोषणा नगरेका डा. राउतले फेसबुकमा  लेखेका छन्, ‘स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दाहरु फिर्ता हुने भएको छ । साथै स्वतन्त्र मधेस गठबन्धनले आफ्नो कार्यालय विभिन्न जिल्लामा खोलेर खुल्ला रुपले राजनीति गर्ने भएको छ ।’

Scroll to Top