काठमाडौं, साउन १० गते ।
त्रिभुवन विश्वविद्यालय अन्तरगतको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको विषय सतहमा छ ।
स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र ह्वाट्एसप ग्रुपबाट बाहिरिएपछि विश्वविद्यालयको परीक्षा प्रणालीलाई लिएर नै प्रश्न उठिरहेका छन् । परीक्षाको विश्वसनियतामाथि टिकाटिप्पणी सामाजिक सञ्जालमा चलिरहेको छ ।
यसरी सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको प्रश्नपत्र लिक प्रकरणमा मन्त्रालयले शनिबारबाटै आफूहरूले काम थालेको दाबी गरेको छ । निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने बताएको शिक्षा मन्त्रालयले यस विषयलाई कसरी हेरिरहेको छ ? के गरिरहेको छ ?
शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, यसरी प्रश्नपत्र लिक भएको विषयमा मन्त्रालय वा सचिवालयलाई औपचारिक च्यानलबाट भन्दा पहिले फेसबुकमार्फत नै जानकारी भएको थियो ।
सञ्जालबाट प्रश्नपत्र बाहिरिएको थाहा पाउनासाथ सम्बन्धित सबैतिर तत्कालै सम्पर्क गर्न मन्त्रालयले थालेको थियो । सुरु भएको मन्त्रीले बताए।
घटना थाहा पाउनासाथ त्रिविका उपकुलपतिसँग तुरुन्तै छलफल भई साइबर ब्युरोलाई आवश्यक सहयोगका लागि पत्र पठाइएको थियो ।
उक्त पत्र दिउँसो नै पठाइए पनि काम अझ छिटो अगाडि बढाउन मन्त्रीले आफैं गृह मन्त्रालयमा सम्पर्क गरी विषयलाई गम्भीरताका साथ हेर्न आग्रह गरेको बताउँछन् ।
‘त्यसपछि प्रधानमन्त्रीको निजी सचिवालयसँग पनि यसबारे समन्वय भएको थियो,’ मन्त्री पोखरेलले अनलाइनखबरसँग भने ।
साइबर ब्युरोले रातभरि नै छानबिन अगाडि बढाएको र प्रारम्भिक ट्रेसिङमा सम्बन्धित व्यक्ति भारतमा रहेको देखिए पनि पछि थप छानबिनपछि नेपालभित्रै रहेको पत्ता लागेको थियो । उक्त व्यक्ति अहिले पक्राउ परिसकेको अवस्था छ ।
घटनाको गहिराइमा पुग्न त्रिविका रजिस्ट्रारसँग समन्वय गरी छिटोभन्दा छिटो छानबिन समिति गठन गर्ने निर्णय भयो । उक्त समितिको पहिलो बैठक भोलिपल्ट बिहान ७ बजे बस्ने योजना बनायो ।
मन्त्री पोखरेलका अनुसार अहिलेसम्मको अनुसन्धानअनुसार हेर्दा परीक्षा भएको केहीबेरमै प्रश्नपत्र लिक भएको विषय बाहिर आएको छ । र यो प्रश्नपत्र परीक्षा केन्द्रबाटै बाहिरिएको देखिन्छ । त्रिविअन्तर्गत हाल झन्डै ६ सय क्याम्पस रहेकाले कुन केन्द्रबाट ठ्याक्कै लिक भयो भन्ने अझै यकिन हुन बाँकी रहेको उनले बताए ।
परीक्षा हलभित्र मोबाइल लैजान बन्देज भए पनि कुनै न कुनै रूपमा केन्द्रबाटै प्रश्नपत्र बाहिरिएको हुनुपर्ने प्रारम्भिक ठहर मन्त्रालयको रहेको छ ।
तर, आफ्नै परीक्षामा भएको प्रश्नपत्र लिकको छानबिन सम्बन्धित डिन कार्यलयले गर्ने कुरा कत्तिको सुहाउँदो हो ? प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले भने, ‘जाँच सुरु हुनुअघि नै भएको भए, क्याम्पसररजिस्ट्रार वा उपकुलपति कार्यालयस्तरबाट यो काम भएको भए शिक्षा मन्त्रालयबाटै, वा प्रधानमन्त्री कार्यालयस्तरबाटै छानबिन अगाडि बढाउने कुरा हुन्थ्यो नै । परीक्षा केन्द्रबाट भएकाले डिन कार्यलयले नै छानबिन गर्ने कुरा भएको हो ।’
छानबिन समितिमा विद्यार्थीलाई पनि समावेश गरिएको मन्त्री पोखरेलको भनाइ छ । उनका अनुसार परीक्षा प्रणालीको त्रुटि वा कुनै व्यक्तिको गल्तीका कारण नियमित विद्यार्थीले कति सम्मको परिणाम भोग्नुपर्ने हो भन्ने विषय पनि छानबिन समितिले नै मूल्यांकन गर्नेछ ।
मन्त्री पोखरेलका अनुसार यस्ता घटना दोहोरिन नदिन टियुको हालको केन्द्रीकृत मूल्यांकन प्रणालीलाई थप विकेन्द्रीकृत र डिजिटल बनाउने योजनामा मन्त्रालय अगाडि बढिरहेको छ । उनले यसलाई एक वर्षभित्र भर्ना र मूल्यांकन दुवै प्रक्रिया डिजिटलाइज्ड गर्नेगरी काम भइरहेको बताए ।
‘यी योजनामा विश्वविद्यालयका उपकुलपति र मन्त्रालय स्वयंको समन्वयमा काम भइरहेको छ । यस्ता घटना हुन नदिन हामीले हरेक विकल्पमा काम गर्नेछौँ,’ उनले भने ।





