प्रमुख सेनानी रामप्रसाद लामिछानेलाई बिदाइ, सुजन महतलाई स्वागत



जलेश्वर, साउन १० गते ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नेपाली सेनाको तर्फबाट जिल्लाको सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका प्रमुख सेनानी रामप्रसाद लामिछानेको बिदाइ तथा नवनियुक्त प्रमुख सेनानी सुजन महतको स्वागत गरिएको छ।

आइतबार आयोजित ‘फेरि भेटौँला’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रमुख सेनानी लामिछानेलाई मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए।

उनले लामिछानेले आफ्नो कार्यकालभर महोत्तरीको शान्ति–सुरक्षा, विपद् व्यवस्थापन तथा विभिन्न सुरक्षा गतिविधिमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उनको योगदानप्रति आभार व्यक्त गरेका थिए। साथै, आगामी जिम्मेवारीका लागि सफलताको शुभकामना पनि दिएका थिए।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी यादवले महोत्तरीमा नयाँ जिम्मेवारी सम्हाल्न आएका प्रमुख सेनानी सुजन महतलाई जिल्ला सुरक्षा समितिको सदस्यका रूपमा स्वागत गरेका थिए। उनले जिल्लाको शान्ति–सुरक्षा कायम राख्न सबै सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरेका थिए।

Scroll to Top