ठेक्का विवादले भंगहाको एक वडा कार्यालय १० दिनदेखि बन्द

शैलेन्द्र महतो-
जनकपुरधाम, चैत्र ४ गते ।
महोत्तरीको भंगहा नगरपालिका- ८ को वडा कार्यालय पोखरीको ठेक्का विवादले १० दिनदेखि बन्द रहेको छ । वडा कार्यालय बन्द हुँदा विभिन्न कामले आउने सेवाग्राही समस्यामा परेका छन् ।

गएको फागुन २३ गते वडामा रहेको पडरिया सार्वजनिक पोखरी वडाध्यक्ष मोहमबद रफिक आलमले ठेक्का लगाएपछि विवाद उत्पन्न भएको हो । त्यसको भालिपल्ट फागुन २४ गतेदेखि वडा सचिव तनुकलाल दास वडा कार्यालय जानुभएकाे छैन ।

सचिव दास वडा कार्यालय नगएपछि विभिन्न कामका लागि कार्यलय जाने सर्वसाधारण समस्यामा परेको वडाध्यक्ष आलमले गुनासो गर्नुभयो । उहाँले प्रक्रियागत ढंगले पोखरी ठेक्का लगाएको, तर नगरपालिका कार्यालयबाट प्रतिनिधि पठाउन आग्रह गर्दा समेत नपठाएर विवाद सिर्जना गरेको बताउनुभयो ।

‘वडासचिव दासले वडाको स्टाम्प, लेटरप्याड सबै लिएर जानुभएकाे छ । विभिन्न सिफारिस लगायत सेवाग्राहीकाे कुनै पनि काम गर्न सकिएको छैन ।’

वडाध्यक्ष आलमले भन्नुभयो, ‘ वडा कार्यालयमा सचिव पठाइदिन पटक पटक नगरपालिकालाई आग्रह गर्दा समेत कुनै वास्ता गरेको छैन । अब हामीले कसरी काम गर्ने ?’ 

यता वडासचिव दासले वडाध्यक्ष आलम पोखरी ठेक्का लगाउँदा प्रक्रिया नपुगाएको र ठेकेदारसँग लिनुपर्ने धरौटी वापतको रकम समेत नलिएको आरोप लगाउनुभयो । त्यस कारण नगरपालिकाले आफूलाई वडा कार्यालयमा नभइ नगरपालिका कार्यालयमा बसेर सेवा प्रवाह गर्न आदेश दिएको बताउँदै त्यसै अनुसार काम गररहेको प्रतिक्रिया दिनुभयो ।
 
यता भंगहा नगरपालिका प्रमुख सञ्जिव साहले वडासचिव दासले नगरपालिका कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएपछि नगरपालिका कार्यालयमै बसेर काम गर्न लगाइएको बताउनुभयो । 

‘वडासचिव दासलाई डरत्रास देखाएर वडाध्यक्ष आलमले उनलाई अवैध काम गराउने गरेको उजुरी छ । त्यसैले नगरपालिका कार्यालयमै बसेर काम गर्न आदेश दिइएको हो ।’

नगरप्रमुख साहले भन्नुभयो, ‘वडाध्यक्षले यस विषयमा कुनै जानकारी पनि गराउनुभएको छैन र नगरपालिकाले बोलाउँदासमेत आउनुहुँदैन । न त सचिवलाई पठाई दिनुस् भनेर मलाई भन्नुभएको छ । कसरी समस्या समाधान हुन्छ ?’