महोतरी, चैत्र २७ गते । राजपा नेपालकी नेता तथा संघीय सांसद चन्दा चौधरीले महोतरीको मटिहानी र जलेश्वर नगरपालिकाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेकी छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई राहत र स्वास्थ्य सामाग्री अभाव भएको बेला सांसद चौधरीले मटिहानी नगरपालिको मझौराविसनपुर र जलेश्वर नगरपालिका खैराका दुई सय विपन्न दलित र मजदुरलाई निजी स्रोतबाट राहत र स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।
ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर साँसद चौधरीले बुधवार राहत वितरण गरेकी छन् । संघीय संसदका साँसद रहेकी चौधरीले मटिहानी नगरपालिका वडा नम्बर ४ र ५ का १ सय ३० परिवार मुसहर र चमार तथा जलेश्वर नगरपालिकाको वडा नम्बर ३ का ७० मुसहर घरपरिवारलाई राहत वितरण गरिन् ।
साँसद चौधरीद्वारा व्यक्तिगत कोषबाट प्रति परिवारलाई १० किलो चामल, २ किलो दाल, २ किलो चिऊरा, २ किलो आलु, १ किलो प्याज, १ लिटर खानेतेल र १ किलो नुन वितरण गरिएको हो । खाद्यान्नकासाथै सांसद चौधरीले उनीहरुलाई साबुन र माक्स समेत वितरण गरेकी थिइन् । तीन साता लामो लकडाउनको अवस्थामा खानपिनमा निक्कै समस्या भएको मुसहर र चमार परिवारले राहत पाएर निक्कै खुशी भएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट स्वास्थ्य सामाग्री उपलब्ध गराउँन लागेका सांसद चौधरी भन्छिन्, ‘कोरोना भाइरसविरुद्धको लडाइँमा तपाईं हाम्रो ऐक्यबद्धता र साथको जति जरुरी छ त्यति नै जरुरी यस विपदको घडीमा आफ्नो स्थानबाट गर्न सकिने सहयोगको छ ।’

यसैबीच सांसद चौधरीले बुधवार महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कोरोना भाईरसको संभावित वा संक्रमित व्यक्तिको उपचारमा सहभागी हुने उद्देश्यले त्यहा कार्यरत चिकित्सकहरुका लागि ४ चार थान पीपीई र केहि सेनिटाईजर पनि प्रदान गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेयले बताए ।





