सुर्खेत, भाद्र १२ गते ।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा घर फोडेर चोरी गरेको आरोपमा दुईजनालाई चोरीका सामानसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद, गरगहना, मोबाइल फोन, यार्सागुम्बालगायत विभिन्न सामग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, भदौ ८ गते राति डोल्पोबुद्ध गाउँपालिका–२, कलाङमा बसोबास गर्ने तीनजना व्यक्तिका घरमा कोही नभएको मौका छोपी ताला फोडेर चोरी भएको थियो । घरभित्र रहेको नगद तथा गरगहना चोरी भएको सूचना भदौ ९ गते प्रहरी चौकी धोमा प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
चोरीमा संलग्न रहेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३७ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३, खदीका ३२ वर्षीय निशान भण्डारी पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट एक लाख ४८ हजार ६८५ रुपैयाँ नगद बरामद गरेको छ । त्यस्तै सुनको जस्तो देखिने चन्द्रमा गहना एक थान, कुवेर लकेट एक थान बरामद गरेको छ । त्यस्तै, चाँदीजस्तो देखिने वाला दुई थान, एन्ड्रोइड मोबाइल तीन थान, किप्याड मोबाइल दुई थान, स्मार्ट घडी दुई थान, दुर्बिन, पावर बैंक दुई थान, टर्चलाइट, सिमकार्ड, चाबी, घडीका फिता, झोला तथा अन्य सामग्री बरामद गरेको छ ।
उनीहरूको साथबाट ७०० थान यार्सागुम्बा समेत बरामद गरिएको छ । प्रहरीले खुकुरी तथा चक्कु दुई थान, फलामको रड दुई थान, कैँची, गुलेली, लाठी र सिसे ढुंगा लगायतका सामग्री पनि बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई भदौ ११ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा ल्याइएको थियो । उनीहरूमाथि डोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





