काठमाडौँ, चैत ११ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा वीरेन्द्रलाई ‘लोकतान्त्रिक’ र ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भनेर टिप्पणी गरेका छन् ।
प्रति सिंगो माओवादी आन्दोलन र आफ्नो पनि सकारात्मक धारणा बनेको बताउँदै प्रचण्डले भनेका छन्, ‘वीरेन्द्रले केही न केही डेमोक्रेटिक ढंगले सोच्छन् भन्ने खालको बुझाइ बनेको थियो ।’
८६ वर्षे वयोवृद्ध नवराज सुवेदीलाई राजावादीको आन्दोलनको नेतृत्व गर्न भनेर दुःख दिएको भन्दै प्रचण्डले त्यसैकारण ज्ञानेन्द्र शाहको बुद्धि नभएको भनेर टिप्पणी गरेका हुन् ।
हिमालय टेलिभिजनको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, ‘ज्ञानेन्द्रको बुद्धि के छ भने नवराज सुवेदी खोजेर, विचरा त्यो ८६ वर्षको बुढालाई दुःख दिने गरी ल्याउने । यसबाट हाम्रो ज्ञानेन्द्र जीको बुद्धि के छ भन्ने देखियो ।’
८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् ।
विगतमा ज्ञानेन्द्र शाहले दलहरुलाई दबाउन तुलसी गिरी र कीर्तिनिधि विष्ट रोजेको र अहिले सुवेदीलाई खोजेको प्रचण्डले टिप्पणी गरे । तर वीरेन्द्रमा केही न केही लोकतान्त्रिक भावना पाएको उनले बताएका छन् ।
वीरेन्द्रसँग छलफलको प्रयास
प्रचण्डले युद्धकालमा वार्ताका लागि तत्कालीन राजा वीरेन्द्रसँग छलफलका लागि प्रयास गरेको स्मरण समेत गरेका छन् । त्यसको प्रबन्ध मिलाउन कृष्णध्वज खड्कालाई जिम्मा दिएको र खड्कामार्फत् वीरेन्द्रको भाइ धिरेन्द्रसँग सम्पर्क गरेर छलफलको प्रयास पनि भएको प्रचण्डले बताएका छन् । त्यतिबेला धिरेन्द्रले लेखेको पत्र अहिले पनि आफूसँग सुरक्षित रहेको प्रचण्डले बताए ।
तत्कालीन राजा वीरेन्द्र र माओवादीबीच सम्पर्क स्थापित भएको थाहा पाएपछि दरबार हत्याकाण्ड भएको हुनसक्ने प्रचण्डले सुनाए ।
‘वीरेन्द्रसँग एक खालको सम्वाद हुने परिस्थिति बन्दै थियो,’ प्रचण्डले अन्तर्वार्तामा भनेका छन्, ‘जब रोल्पाको होलेरी घटना भयो, हाम्रा जनमुक्ति सेनाका कमाण्डर र त्यहाँ गएका त्यतिबेलाका शाही सेनाका कमाण्डरबीचमा वार्ता पनि भयो । सायद देशभित्रका सबभन्दा प्रतिगामी, निरंकुश, तानाशाही प्रवृत्तिका मान्छे र हुनसक्छ देश बाहिरका प्रतिक्रियावादीलाई पनि वीरेन्द्रलाई ज्युँदो राख्यो भने त यसले माओवादीलाई पो प्रमोट गर्नेभयो भन्ने पर्यो कि १ मलाई त्यो चाहिँ लागिराख्छ ।’
२०५८ जेठ १९ गते राति नारायणहिटी दरबारभित्रै गोली चल्दा वीरेन्द्रको वंश नास भएको थियो । त्यतिबेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, अधिराजकुमार धिरेन्द्र लगायतको हत्या भएको थियो ।
त्यसपछि जेठ २२ गते ज्ञानेन्द्र शाह राजा बनेका थिए । उनले राजनीतिमा सक्रिय हुने चाहनाका कारण उनले २०६१ माघ १७ गते शासन सत्ता हातमा लिएको घोषणा गरे । कांग्रेस, एमाले लगायतका दलका शीर्ष नेताहरु पक्राउ परे । सो घटनापछि युद्धमा रहेको माओवादी र नेपालका अन्य सात राजनीतिक दलहरुबीच दिल्लीमा बाह्र बुँदे समझदारी भएपछि राजाको प्रत्यक्ष शासनविरुद्ध २०६२ चैत २२ देखि जनआन्दोलन सुरु भएको थियो ।
जनआन्दोलन दबाउने कोसिस गरे पनि नसकेपछि ज्ञानेन्द्र शाहले २०६३ वैशाख ११ गते नारायणहिटीबाट सम्बोधन गर्दै ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ घोषणा गरेका थिए ।
१९ दिनसम्म चलेको जनआन्दोलनको बलमा पुनर्स्थापित भएको संसदले नेपाललाई गणतान्त्रिक देश घोषणा गर्यो र २०४ वर्ष लामो राजतन्त्र समाप्त भयो । ज्ञानेन्द्र शाह नेपालको शाहवंशीय अन्तिम राजा बन्न पुगे ।
ज्ञानेन्द्र सफल नहुने प्रचण्डको दाबी
गणतान्त्रिक शासन व्यवस्थामा पनि वर्तमान राजनीतिक दल र तिनका नेताहरुप्रति जनतामा असन्तुष्टि रहेकाले त्यसको फाइदा उठाउने उद्देश्यले राजावादीहरु सक्रिय हुने प्रयासमा छन् ।
तर प्रचण्डले राजावादीहरु बीचमा फुट भएकाले उनीहरु सफल नहुने जिकिर गर्छन् । उनले भने, ‘१५–२० हजारको ९ज्ञानेन्द्र शाहका समर्थकको० जुलुस के भएको थियो, राजावादीहरुमा अहिले कति गुट छन्, बाहिर तानातान भएको देखिएको छ ।’
राजासंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले संवैधानिक राजतन्त्रको माग गर्दै र्याली, जुलुस लगायतका गतिविधि गर्दै आएका छन् । तर प्रचण्डले उनीहरुको माग पूरा गर्न ‘असम्भव’ भएको बताए ।
‘पहिलो त संविधानतः मिल्दैन यो । हामी जहाँ आइसकेका छौं, त्यहाँबाट पछाडि फर्किने हुनै सक्दैन,’ प्रचण्डले भने, ‘नेपालका सबै जाति, क्षेत्र, समुदाय उत्पीडित वर्गले जे अधिकार पाएका छन् त्यो खोस्नेतिर जान्छ यो, त्यो हुन सक्दैन । इम्पोसिबल ।’