काठमाडौँ, भदौ २३ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान संसदको विघटन र संविधान खारेज गर्नुपर्नेमा जोड दिएको छ। उनले ‘जेन-जी’ आन्दोलनको आडमा भएको अराजकता र भविष्यमा देशलाई थप द्वन्द्व तथा वैदेशिक हस्तक्षेपबाट जोगाउन तत्काल केही कदम चाल्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
लिङ्देनले आफ्नो फेसबुक पोस्टमार्फत अहिलेको अवस्थाका लागि जिम्मेवार नेतृत्वको गैरजिम्मेवार क्रियाकलापलाई दोष दिँदै अब ‘जेनजी’ को सहमतिमा अन्तरिम सरकार गठन गर्नुपर्ने र अन्तरिम संविधान ल्याउनुपर्ने माग गरेका छन् । यसका साथै, उनले आन्दोलनका क्रममा दमनकारी भूमिका खेल्नेहरूमाथि तत्काल कारबाही गर्न र २०४६ सालपछिका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने बताएका छन् ।
उनले नेपालको भविष्यका लागि केही महत्त्वपूर्ण व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्थाको वकालत गरेका छन् । उनले राष्ट्रपतिको ठाउँमा अभिभावकीय संस्थाका रूपमा राजा राख्नुपर्ने, पूर्ण समानुपातिक संसद हुनुपर्ने र सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
यसैगरी, प्रदेशहरू खारेज गरी केन्द्र र बलियो स्थानीय तह भएको राज्य संरचना बनाउनुपर्ने, गैरदलीय स्थानीय तहको व्यवस्था गर्नुपर्ने र न्यायालयमा पुनर्नियुक्तिको व्यवस्था गर्नुपर्ने माग पनि उनले राखेका छन् ।
विद्यार्थी र कर्मचारी लगायतका युनियनहरूको खारेजी, सबै भ्रष्टाचारकाण्डको स्वतन्त्र छानबिन, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र र संवैधानिक अंगहरूमा दलीय सिफारिसमा नभई स्वतन्त्र र पारदर्शी नियुक्तिको व्यवस्था गर्नुपर्ने लिङ्देनको भनाइ छ ।