सन्तोष सिंह
महोत्तरी, असार ७ गते ।
महोत्तरीको गौशाला नगरपालिकामा मेयर–उपमेयरको विवाद साम्य भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सर्वदलीय बैठकले विवाद साम्य पार्न तीन बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।
गौशाला नगरपालिकाको जनप्रतिनिधिहरुबीच विवाद भई सेवा प्रभावित भएको एवं शान्ति सुरक्षामा समेत चुनौती हुन सक्ने देखिएपछि जलेश्वरमा उपलब्ध राजनीति दलका प्रतिनिधि, गौशाला नगरपालिकाका मेयर डा.दिपेन्द्र महतो, उपमेयर रेणुकुमारी महतो र सुरक्षा निकायका प्रमुखहरुबीच तीन बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी रिसालले बताए ।
उपप्रमुखले नियन्त्रणमा लिएको दर्ता चलानी किताबको सकलप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरीको रुपमा बुझाएको भनि बैठकमा मौखिक जानकारी गराएकोले नगरपालिकाले सम्बन्धित निकायमा समन्वय गरी दर्ता चलानी किताब प्राप्त गर्ने, उपप्रमुखको कार्यकक्ष नगरपालिकाको भवनको साविककै कोठामा संचालनको व्यवस्था गर्ने गरी कार्यपालिकाबाट निर्णय गर्ने र उपप्रमुखलाई सुरक्षित एवं मर्यादित रुपमा कामकाज गर्ने व्यवस्था नगर प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतले मिलाउने सहमति भएको प्रजिअ रिसालले बताए ।

विवादका क्रममा भएका घटनाको दुवै पक्षले आत्मसमीक्षा गर्दै आगामी दिनमा प्रचलित कानुन र विधिमा रही आ–आफ्नो जिम्मेवारी सम्पादन गर्ने, उपप्रमुखलाई कार्यालय तथा कार्यकक्षमा प्रवेश गर्न अवरोध गर्ने कर्मचारी, सुरक्षाकर्मीका सम्बन्धमा कार्यपालिकाले छानबिन समिति गठन गर्ने, अन्य विषयमा नगरपालिका/नगर कार्यपालिकामा छलफल गरी समाधान गर्ने/गराउने सर्वदलीय बैठकमा सहमति भएको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न, विकास निर्माणका गतिविधि सञ्चालन गर्न राजनीतिक दल तथा सबै जनप्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेको रिसालले बतए ।
गौशाला नगरपालिकाको दर्ता चलानी उपमेयर महतोले नियन्त्रणमा लिएपछि द्वन्द्व चर्केको थियो । उपमेयरले दर्ता चलानी नियन्त्रणमा लिएपछि उनको कार्यकक्षमा ताला लगाइएको थियो । शनिबार ७ घण्टा चलेको सर्वदलीय बैठकमा मेयर र उपमेयर समन्वय गरी दैनिक काम सञ्चालन गर्ने विषयमा छलफल भएको बैठकमा सहभागीहरुले बताए ।
