काठमाडौं, जेठ १७ गते ।
पहिलोपटक संसदमा सम्बोधन गरेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले पनि प्रश्न गरेका छन् ।
‘संसदमा जवाफ दिन आइदिनुभएकोमा प्रधानमन्त्रीप्रति सम्मान व्यक्त गर्छु । आम नागरिकले अद्भूत जनमत दिएर पठाएकोमा आम नागरिकलाई धन्यवाद । सुशासनको दृष्टिबाट केही अघिसम्म सरुवा बढुवा घुस नखाइ नहुने अवस्था थियो । यो सरकार बनेपछि त्यो कुरा चिरियो । आम जनमत सुशासन र समृद्धिका लागि हो भन्नेमा दुई मत छैन । सरकारले यसरी नै काम गर्न लागेको छ भनेर प्रस्ट्याइदिन हुन अनुरोध गर्दछु,’ बुर्लाकोटीले प्रश्नमा सोधेका छन् ।
जवाफमा प्रधानमन्त्री बालेनले सरकारका मन्त्री र पार्टी सभापतिले मुख्य प्राथमिकता नै सुशासन भन्दै आएको बताए ।
‘हाम्रो पार्टीका मन्त्री र सभापतिले हाम्रो मुख्य प्राथमिकता सुशासन हो भन्दै आउनुभएको छ । हामीले पहिलो वर्षलाई सुशासनको वर्ष भनेको छौँ । त्यो भनेको विकास गर्दैनौँ भनेको होइन । सरकार र मान्य सांसदको निगरानीमा पनि पालिका निकाय छन् । पहिलो वर्ष सुशासन, बेथितिलाई हटाउने, बलियो जरा हालेकोको भ्रष्टाचारलाई निर्मुल बनाउने हो,’ उनले भने, ‘कम्पनी रजिस्ट्रार कार्यालय, मालपोत, यातायातमा विकृति छ । सरकारले सुशासनलाई मुख्य प्राथमिकता दिएको छ ।’





