सरु लामा
ढल्केवर, भदौं १५ गते ।
सफल होटल व्यवसायी एवं समाजसेवी हिरालाल गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’बाट सम्मानित भएका छन् । उनलाई महोत्तरीको बर्दिबासस्थित रहेको ‘सबैका लागि हामी’ संस्थाले शनिबार उक्त सम्मान प्रदान गरेको हो ।
बर्दिवासस्थित होटेल पावन मिथिलामा संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष एवं गौतम होटलका सञ्चालकसमेत रहेका गौतमलाई ‘बर्दिवास वर्ष व्यक्ति सम्मान–२०८१’ प्रदान गरिएको संस्थाका अध्यक्ष रवि निरौलाले जानकारी दिए । यसअघि पहिलो संस्करणमा समाजसेवी कृष्ण प्रसाद देवकोटा उक्त सम्मानबाट सम्मानित भएका थिए ।
सम्मान ग्रहण गर्दै व्यवसायी गौतमले आफ्नो नेतृत्वकालीन गतिविधिको कदर गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै पर्यटन व्यवसायलाई अझ मजबुत बनाउन निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।
बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा महासचिव विशाल दर्नालले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए । सोही अवसरमा संस्थाको तीन वर्षे यात्रालाई प्रतिबिम्बित गर्ने वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले संस्थाले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै नगरपालिकाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।





