रामबाबु यादव
गौशाला, भदौ २५ गते ।
महोत्तरीमा नेपाली सेना परिचालन र कर्फ्यु जारी रहेकै समयमा जेनजीको नाममा गाउँपालिकामा तोडफोड र आगजानी भएको छ ।
बुधबार महोत्तरी जिल्लाका सुरक्षा सयन्त्रले जिल्ला भरी अनिश्चितकालीनकर्फ्यू आदेश जारी गर्दै थप जनधनको क्षति नगर्न/नगराउन आग्रह गरेको सयमा सोनमा गाउँपालिका कार्यालयमा करीब १ः०० को समयमा जेनजीको नाममा स्थानीय युवाहरुले कार्यालयको तालचा फुटाइ कार्यालय भित्र रहेका कागजात, कम्प्युटर, कुर्सी लगायतका सामग्री तोडफोड गर्दै बाहिर निकाली जलाएका हुन् ।

यस सम्बन्धमा सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले जेनजीको समूहको नाममा गाउँपालिकाको कागजात लगायतका सामग्री जलाएको पुष्टि गरे ।
उनले जिल्लाका सुरक्षा सयन्त्रले जिल्ला भरी कर्फ्यू आदेश जारी गर्दै थप जनधनको क्षति नहुन दिन सेना समेत परिचालन भएको समयमा यस्तो घटना हुनु दुःखद् र दुर्भाग्य रहेको बताए ।
यता, जिल्ला प्र्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले सोनमा गाउँपालिकामा भएको घटनाबारे सूचना पाए लगतै सुरक्षाकर्मी पुगेको बताए । उनले घटनामा संलग्नहरुको खोजतलास गरि कानून अनुसार कारवाही गरिने बताएक छन् ।