गाउँपालिका अध्यक्षकै अगुवाइमा रुख कटान गरिएको आरोप



सिरहा, माघ १४ गते ।

चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लगाइएका रुखहरू बिना अनुमति काटिएको घटनाप्रति स्थानीयवासी आक्रोशित भएका छन्।

बजार क्षेत्रमा रहेका आँप र जामुनका रुखहरू राजनीतिक पहुँचको आडमा काटिएको स्थानीयको आरोप छ। स्थानीय अरुण यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवको अगुवाइमा बजार क्षेत्रका रुखहरू कटान गरिएको आरोप लगाए ।

उनले गाउँपालिका अध्यक्षसहित राजकुमार यादव, नागे यादव र विन्देश्वर यादव (फतुरिया)लगायत रुख कटानमा संलग्न रहेको बताए ।

यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्राले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले अनुसन्धानका क्रममा दोषी देखिए वन ऐनअनुसार कारबाही गरिने बताए । यस विषयमा बुझ्न पटकपटक गाउँपालिकाका अध्यक्षलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

Scroll to Top