फागुन एक्काइस [कविता]



फगत
एउटा दिनमात्र होइन
तपाईंको, मेरो
हामी सबैको
उन्मुक्त हांसो
गहिरो श्वास
र सिङो जीवनको छनौट हो ।
अध्यारो कोठामा बालिएको
अर्थपुर्ण दियो जस्तै ।
एउटा क्षण हो,
भोलिको उज्यालोको ।
फागुन एक्काइस
फगत
कागजमा कोरिएको
मसिको धर्को मात्र होइन नि
न त पानामा लगाइने स्वस्तिक छाप मात्र ।
यो त
अवसर हो
आफ्नो भोलिको पिकासो बन्ने
रंग छान्ने,
ढाँचा कोर्ने,
र असल चित्रकार बन्ने ।
अझ भनौँ
सहासको हस्ताक्षर हो ।
माथि हेर त,
भिरको टुप्पोमा आशाको झण्डा
आकास तिर उचालिए जस्तो,
हो त्यहि हो, फागुन एक्काइस ।
आफुलाई आकासभन्दा माथि उचाल्ने दिन ।
शासनको साटो व्यवस्था छान्ने दिन।
जब जब
आवाजहरु थाक्छन,
जबजब
‘स्वत्व’ को संकट पर्छ,
र जब जब
सपनाहरु थला पर्छन,
अनि आउँछन फागुन एक्काइसहरु ।
सुकेको पातमा पानीको पहिलो थोपो बनेर,
अनि झक्झक्याउँछन
‘तं अजै जिउँदैछस्’ भनेर ।
त्यसैले त
फागुन एक्काइस
फगत एउटा दिनमात्र होइन ।
यो त
धैर्यताका साथ
नदिले बाटो बनाए जस्तै
सचेत सत्ता छान्ने दिन ।
छाप होइन
बिउ रोप्ने दिन ।
भोलिको फुलबारि निर्माणको लागि ।
तर, सावधान !
विवेकले रोपे
फुलबारि बन्छ,
लोभले रोपे
कांडाघारि बन्छ ।
त्यसैले त,
फागुन एक्काइ
विवेक रोप्ने दिन हो ।
आफैँ देश बन्ने दिन हो ।
चेतनाको परीक्षण,
फगत एउटा प्रकृया मात्र होइन,
सचेत जिम्मेवारीको दिन ।

Scroll to Top