काठमाडौँ, चैत १४ गते ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयले एसपीदेखि जवानसम्मलाई तयारी अवस्थामा बस्न सर्कुलर गरेको छ।
शनिबार बिहान ७ बजेभित्र हेडक्वार्टर र अन्य युनिटको हकमा ७ बजे नै चुस्ता पोसाकमा तयारी हालतमा बस्न दुवै निकायले सर्कुलर गरेका हुन्।
गएराति नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग छलफल गरेका थिए।
गृहमन्त्रीसँगेको छलफलपछि दुवै सुरक्षा निकायका हेडक्वार्टरले यस्तो सर्कुलर जारी गरेका हुन्।
सुरक्षा प्रमुखहरुसँग गृहमन्त्री गुरुङले जेनजी आन्दोलनमा दमन गर्ने राजनीतिक र प्रशासनिक उच्च अधिकारीमाथि अनुसन्धान गर्ने विषयमा छलफल गरेका छन्।
मन्त्री गुरुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) को पदबहालीपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
बालेन सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध मात्रै तत्काल कारबाही अगाडि बढाउने तयारी गरेको छ।
ओली सरकारकै गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको हकमा प्रतिवेदन कार्यान्वयन गर्न सरकारले सम्बन्धित निकायमा लेखि पठाउने निर्णय गरेको छ।





