१० लाख ऋण लागेपछि यातायात कार्यालयमा किर्ते धन्दा



विराटनगर, चैत २० गते ।

विराटनगर महानगरपालिका–४ मा रहेको यातायात व्यवस्था कार्यालय परिसरबाट सरकारी छाप र अधिकृतको दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सवारी दर्ता किताब (ब्लू बुक)नवीकरणका नाममा ठगी गरेको आरोपमा विराटनगर–६ का ३७ वर्षीय कमलकुमार स्वर्णकार पक्राउ परेका हुन् । यातायात कार्यालय परिसरमा लेखापढीको काम गर्दै आएका स्वर्णकारले सवारी बिलबुक रिन्युका लागि आउने सेवाग्राहीलाई ठगी गर्ने गरेका थिए ।

मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार सवारी दर्ता किताबमा आफै सरकारी छाप, दस्तखत र अधिकृतको हस्ताक्षर प्रयोग गरी सवारीसाधनको नवीकरण प्रक्रिया पूरा गर्थे । सरकारी राजस्व भने उनी आफै राख्थे । ब्लु बुक रिन्यु गर्न पुगेका सेवाग्राहीले सरकारी ढड्डामा विवरण नभेटेपछि प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले स्वर्णकारलाई चैत १६ गते दिउँसो पक्राउ गरेको थियो ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा १० लाख रुपैयाँ ऋण लागेपछि छिटो पैसा कमाउन किर्ते गरेको देखिन्छ,’ एसपी कटवालले भने,‘थप अनुसन्धान जारी छ ।’ प्रहरी स्रोतका अनुसार स्वर्णकारले ९५७९ नम्बरको मोटरसाइकलको ब्लू बुक नवीकरण गरिदिने भन्दै जिम्मा लिएका थिए ।

यातायात कार्यालयको पनि कमजोरी देखिएको प्रहरीले बताएको छ । यातायात कार्यालयका कर्मचारीले अधिकृतको हस्ताक्षर र छाप बाहिर राख्दा ठगी गर्ने गिरोहलाई सजिलो भएको प्रहरीले बताएको छ ।

प्रहरीले स्वर्णकारको घर खानतलासी गर्दा विभिन्न ११ थान ब्यू बुक फेला परेको छ । सेवाग्राहीका ब्लू बुक नवीकरणका लागि जिम्मा लिने र नवीकरण गरिदिएको भन्दै ढाँटेर राजस्व नतिरिकन फर्जी रसिद उपलब्ध गराउने गरेको देखिएको प्रहरीले बताएको छ ।

Scroll to Top