आमसञ्चार प्राधिकरणको कार्यशैलीप्रति महासंघका जिल्ला अध्यक्षहरुको आपत्ति



द पव्लिक टुडे
गौशाला, वैशाख १५ गते ।

आमसञ्चार प्राधिकरण जनकपुरधामको कार्यशैलीप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश अन्तर्गतका आठवटै जिल्ला शाखाहरूले कडा आपत्ति जनाएका छन् ।

मंगलवार महासंघका जिल्ला शाखाका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आम संचार प्राधिकरण मधेश प्रदेशले सञ्चारमाध्यम तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दा सरोकारवालासँग प्रभावकारी समन्वय नगरिएको आरोप लगाएका छन् ।

जारी विज्ञप्तिमा मधेश प्रदेश सरकारअन्तर्गत रहेको आमसञ्चार प्राधिकरणले मधेश प्रदेशका आठ वटै जिल्लासँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएकोप्रति गिम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा महोत्तरीको बर्दिवासमा वैशाख १५ गतेदेखि सञ्चालन हुन लागेको स्थानीय तहमा पत्रकारिता प्रशिक्षणका लागि प्रशिक्षक तयार पार्ने तीनदिने आवासीय तालिमलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

विज्ञप्ती अनुसार प्रारम्भमा जिल्ला शाखाहरूबाट प्रशिक्षक पत्रकारहरूको नामावली माग गरिए पनि त्यसपछिको प्रक्रियामा महासंघसँग कुनै सार्थक छलफल नगरी अलग्गै सूचना प्रकाशित गरेर आवेदन आह्वान गरिएको थियो । यसले संस्थागत समन्वयको मर्मविपरीत काम भएको ठहर महासंघको छ ।

त्यसैगरी चैत १७ गते आठै जिल्लाबाट पाँच÷पाँच जनाको नाम मागिएपछि पनि प्राधिकरणले चैत २५ गते बेग्लै सूचना निकालेर विवरण पेश गर्न आग्रह गरेकोप्रति महासंघले आपत्ति जनाएको छ । यस्तो कार्यले समन्वय अभाव मात्र नभई महासंघको गरिमा र भूमिकामाथि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले यस्ता “गैरजिम्मेवार र असंवेदनशील” कार्यशैलीप्रति कडा विरोध जनाउँदै विगतमा सञ्चालन गरिएका एआईसम्बन्धी तालिमहरूमा समेत स्थानीय पत्रकारहरूको आवश्यकता र सन्दर्भलाई बेवास्ता गरिएको अनुभव दोहोरिनु चिन्ताजनक भएको जनाएको छ ।

आगामी दिनमा यस्ता कार्यक्रमहरू योजना बनाउँदा र कार्यान्वयन गर्दा महासंघका जिल्ला शाखासँग अनिवार्य रूपमा समन्वय र सहकार्य गर्न पनि माग गरिएको छ । साथै प्रदेश सरकारबाट विनियोजित बजेटको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका जिल्ला शाखाका अध्यक्षहरू मनोज बनैता ९सिरहा०, पुरन साह ९धनुषा०, ओमप्रकाश ठाकुर ९सर्लाही०, महेशकुमार दास ९ महोत्तरी०, रमेश सुवेदी ९बारा०, सञ्जय काकी ९रौतहट०, ओमप्रकाश खनाल ९पर्सा० र श्रवण देव ९सप्तरी० द्वारा संयुक्त हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा यस्ता मनपरी गतिविधिहरू तुरुन्त सच्याउन आग्रह गर्दै महासंघको सहभागिता, सम्मान र सहकार्यबिना सञ्चार क्षेत्रको दिगो विकास सम्भव नहुने स्पष्ट पारिएको छ ।

Scroll to Top