राष्ट्रिय आर्थिक गणना बुधबारदेखि सुरू हुँदै



गण्डकी, चैत ३० गते ।

राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलनको काम बुधबारदेखि सुरू हुँदैछ । आर्थिक गणनाका लागि देशभर छनोट भएका गणक र सुपरीवेक्षकलाई पाँच दिनको तालिम दिएर कार्यस्थलमा खटाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

आगमी वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन हुनेछ । जिल्ला आर्थिक गणना कार्यालय, बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले देशभर एकसाथ यही चैत २६ गतेदेखि ३० गतेसम्म गणक र सुपरीवेक्षकलाई तालिम प्रदान गरिएको बताए ।

उनका अनुसार बागलुङमा ३३ गणक र पाँच सुपरीवेक्षक आर्थिक गणनामा खटिनेछन् । “पाँच दिनको तालिम पूरा गरेर गणक र सुपरीवेक्षक तोकिएका क्षेत्रमा पुग्नुभएको छ”, उनले भने, “वैशाख २ गतेदेखि आर्थिक गणना कार्य सुरू हुँदैछ ।”

सत्यतथ्य र विश्वसनीय रूपमा आर्थिक विवरणरतथ्याङ्क सङ्कलन गर्नका लागि गणक र सुपरीवेक्षकलाई प्रशिक्षित गरिएको कार्यालय प्रमुख सुवेदीले बताए । औद्योगिक तथा व्यापारिक संरचनाको जानकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास लक्ष्य मापन, प्रतिस्पर्धी क्षेत्रको उजागर, रोजगारी सिर्जना, राष्ट्रिय अर्थतन्त्रमा योगदानको मापनलगायत आर्थिक गणनाको महत्व रहेको उनको भनाइ छ ।

जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधकारी कृष्णप्रसाद आचार्यले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको नीति तथा योजना निर्माणका लागि आर्थिक गणना महत्वपूर्ण रहेको बताए ।

आर्थिक गणनामा विभिन्न वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने औपचारिक वा अनौपचारिक सबै प्रतिष्ठानरव्यवसायको गणना गरिने जनाइएको छ । यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ मा सञ्चालन गरिएको थियो ।

Scroll to Top